

जनकपुरधाम ।
मिथिलाञ्चलमा मनाईने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ । जसमध्ये विशेष गरी दूर्गा पूजा, नागपूजा, विश्वकर्मा पूजा, ईन्द्र पूजा, गणेश पूजा लगायतका चाडपर्वमा माटोले बनाईएका रंगबिरंगका कलात्मक मूर्ति प्रयोग गरिन्छ । सरस्वती पूजा नजिकिएसँगै मूर्तिकारहरुलाई माटोका कलात्मक मूर्तिलाई लिएर भ्याई न भ्याई छ ।
सरस्वती पूजा हुने विद्यालय तथा विभिन्न स्थलहरुमा तयारी चलि रहँदा मूर्तिकारहरु भने मूर्तिलाई अन्तिम रुप दिने तयारीमा अहोरात्र खटि रहेका छन् । यीनै मूर्तिकारमध्ये एक हुन् योगेन्द्र पण्डित । पण्डित विगत ३४ वर्षदेखि मूर्ति व्यवसायमा लागेका छन् । ९ वर्षकै हुँदादेखि म मूर्तिकला तर्फ आकर्षित हुँदै गए, पण्डित भन्छन् ‘९ वर्षको उमेरमा माटाका मूर्ति बनाउन जुन दिनदेखि तल्लिन भएँ त्यो दिनदेखि फेरी यही व्यवसायमा रमाउन थाले ।’ शुरुमा उनले आफ्ना बुवालाई मूर्ति बनाउन सघाउँथे पछि बाहिर बाहिर गएर मूर्ति बनाउने नयाँ नयाँ कला सिकेपछि उनी आफैँ मूर्ति बनाउन खप्पिस भईहाले ।
पहिला व्यवसायिक रुपमा मूर्ति बनाउनेहरुको जनकपुरधाम क्षेत्रमा अभाव थियो, योगेन्द्रले भने ‘त्यो बेला मेरो व्यवसाय खुबै चल्थ्यो, मैले बनाएका माटाका मूर्तिहरुले चर्चा पनि पाउने गथ्र्यो ।’ सरस्वती पूजालाई लिएर पहिले मूर्तिको माग धान्नै गाह्रो हुन्थ्यो तर अहिले आएर मूर्तिको मागमा कमी आएको उनले सुनाए । पहिले कुम्हाल जातिको मात्रै मूर्ति बनाउने पेशा रहँदै आएको थियो अब अन्य अन्य जातिका व्यक्तिपनि यो व्यवसायमा लागिसकेको उनले गुनासो गरे ।
अर्का मूर्तिकार लक्ष्मण पण्डितको गुनासो छ मूर्ति बनाउन जति मेहनत र लगन लगाएका हुन्छौँ त्यो अनुसारको पारिश्रमिक पाउन सकिरहेका छैनौँ । मूर्ति बनाउन माटो, बाँस, काठ, कपडा, रेडिमेड गहनाको आवश्यक्ता हुन्छ । ती सबै सामानहरु मूल्य आकाशिदै गईरहेको छ । लक्ष्मण भन्छन् ‘यदि भगवानको मूर्ति बनाउछौँ भने त्यो अनुसारको कल्पना गर्नैै पर्छ, तर कल्पना अनुसारको मूर्ति बनाउँदा सोही अनुसारको आम्दानी नआउँदा मन खिन्न हुन्छ ।’
एउटा मूर्ति बनाउन कम्तीमा ४देखि ५ दिन लाग्छ तर त्यो अनुसारको आम्दानी छैन । लक्ष्मण भन्छन् ‘अहिले देशकै आर्थिक स्थिति कमजोर छ, धेरै महँगो गरेर पनि मूर्ति बेच्न पाइने होइन ।’ ठूल ठूला मन्दिर बनाउँछन्, तर मूर्ति बनाउँदैनन् लक्ष्मणले भने ‘फोटो राखेरै पूजा गरिहाल्छन् यसले पनि मूर्तिको मागमा कमी आएको छ ।’
रेडिमेड मूर्तिहरुले समेत बजार पाउन थालेपछि यहाँका मूर्तिकारहरुको अवस्था दयनिय हुँदै गईरहेको मूर्तिकारहरुको गुनासो छ ।
