

बारा ।
बाराको गढीमाइ मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ । महागढीमाइ नगरपालिकाभित्र पर्ने मन्दिर क्षेत्रमा बली दिने प्रयोजनको लागि भक्तजनलाई पशुपन्छी बिक्रीमा नगरपालिकाका मेयरले हस्तक्षेप गरेको भन्दै स्थानीय खुद्रा व्यापारीहरु तोडफोड र विरोध प्रदर्शनमा उत्रिएपछि मन्दिर क्षेत्र तनावग्रस्त बनेको हो ।
गढीमाइ मन्दिरमा हुने ठूलो मेला भर्खरै सकिएको छ । यो मेलामा बली दिइने पशुपन्छीहरुको बिक्री वितरण मन्दिर व्यवस्थापन समितिले गरेको थियो । मन्दिर व्यवस्थापन समितिको प्रमुख नगरपालिकाका मेयर हुने व्यवस्था छ । मेलामा मन्दिर व्यवस्थापन समितिले ५० लाखभन्दा बढीको परेवा मात्र बिक्री गरेको स्थानीय व्यापारी बताउँछन् । मेला सकिएपछि पनि मन्दिरमा नियमित पुजाआजा र बली दिने परम्परा चलिरहेकै छ ।
यसका लागि मन्दिर क्षेत्रमा स्थानीय साना व्यापारीहरुले पशुपन्छी बिक्रीवितरण गर्न खोज्दा नगर प्रमुखले प्रहरी लगाएर व्यापारीहरुलाई लखेटेको भन्दै खुद्रा व्यापारीहरु विरोधमा उत्रिएका हुन् । मेयरले प्रहरी लगाएर आफूहरुलाई कुटपिट र दमन गरेको भन्दै साना व्यापारीहरु लाठीसहित तोडफोड र विरोधमा उत्रिएका छन् ।
नगरपालिकाकी उपप्रमुख तारादेवी कानुका अनुसार मन्दिर व्यवस्थापन समितिले मात्रै पशुपन्छी बिक्री वितरण गर्ने नियमको विरोधमा साना व्यापारीहरुले प्रदर्शन गरेका थिए । ती प्रदर्शनकारीलाई नगरपालिकाले प्रहरी लगाएर लखेटेको आरोप लगाउँदै स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो ।
