

जनकपुरधाम ।
त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लब जय ट्रफी पुरुष इलाइट कप–२०२५ को च्याम्पियन बनेको छ ।
बिहीबार पर्साको विरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनलको अन्तिम दिन पुलिसबाट पाएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले सबै विकेट गुमाएर ७४ रनमात्र बनाउन सक्यो ।
खेलको पहिलो इनिङ पुलिसले १३३ रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको आर्मीले १७० रन बनाउँदै पुलिसविरुद्ध ३७ रनको अग्रता बनाएको थियो ।
दोस्रो इनिङ पुलिसले १३९ रन बनाएपछि आर्मीले जितका निम्ति १०३ रनको लक्ष्य पाएको थियो । तर, दोस्रो इनिङमा पुलिसबाट सागर ढकाल र ललित नारायण राजवंशी चम्किएपछि आर्मी ७४ रनमै समेटिएको हो ।
दोस्रो इनिङमा आर्मीका ओपनर इमरान सेखबाहेक, अन्य ब्याट्मैनको प्रदर्शन उल्लेखनीय रह्न सकेन । इमरानले सर्वाधिक २८ रन बनाए । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन थप्दा अन्य ब्याट्समैन भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले ६ विकेट लिए । सागरले १४ओभर २ बलमा १ मेडेन राख्दै ३५ रन खर्चिए । यस्तै, ललितले चार विकेट लिए । १५ ओभर बलिङ गरेका ललितले दुई मेडेन राख्दै ३९ रन खर्चिए ।
दोस्रो इनिङमा पुलिसका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाएका थिए । दीलिप नाथले ३४ रन जोड्दा राशिद खानले १८ र अमित श्रेष्ठले १३ रन थपे ।
दोस्रो इनिङमा बलिङतर्फ आर्मीका साहब आलम र बसिर अहमेदले समान पाँच विकेट लिएका थिए । साहब आलमले २५ ओभर बलिङ गर्दा चार मेडन फ्याक्दै ७५ रन खर्चिएका थिए । यस्तै, बसिरले २२.१ ओभरमा ६ मेडन फ्याक्दै ४९ रन खर्चिएका थिए ।
