

जनकपुरधाम ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भन्ने गरिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
मकर संक्रान्ति हिन्दु धर्माबलम्वीहरुका लागि प्रमुख पर्वहरुमध्ये एक हो । यो पर्व प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन अर्थात माघ १ गते हर्षोल्लासपूर्वक मनाइने गरिन्छ । यो दिन बाट सूर्य उत्तरायण हुन लाग्छ । जब उत्तरी गोलार्ध सूर्य तर्फ हुन थाल्छ । परम्परागत हिसाबले यो मानिन्छ कि यो दिन सूर्य मकर राशिमा प्रवेश गर्छ । यो पर्व एक प्रकारले वैदिक उत्सव नै हो । मकर संक्रान्तिका दिन खिचडि अनिवार्य रुपमा भोजनमा बनाइन्छ । यसका साथै तिलको लड्डु, चुराको लड्डु, मुरहीको लड्डु आदि परिकारहरु समेत बनाइन्छ ।
यो पर्वको सीधा सम्बन्ध प्रकृति, ऋतु परिवर्तन र कृषिसँग हुन्छ । प्रकृतिको कारकको रुपमा यस पर्वमा सूर्य देवको पूजा अराधना गरिन्छ । शास्त्रहरुमा भौतिक एवं अभौतिक तत्वको आत्मा सूर्यलाई मानिएको हो । मकर संक्रान्तिको उद्गम धेरै प्राचीन हो । ईसा पूर्व एक सहस्त्र वर्ष पूर्व ब्राह्मण एवं औपनिषदिक ग्रन्थहरुमा उत्तरायणको ६ महिनाको उल्लेख पाइन्छ । उत्तरायणमा अयन शब्द आएको हो जसको अर्थ मार्ग वा स्थल हुन्छ । गृह्यसूत्रमा उदगयन उत्तरायणको द्योतक मानिन्छ जहाँ स्पष्ट रूपमा उत्तरायण आदि कालमा संस्कार गर्ने विधिको रुपमा वर्णन गरिन्छ । यद्यपि प्राचीन श्रौत, गृह्य एवं धर्म सूत्रमा उदगयन धेरै शताब्दि पूर्वदेखि शुभ काल मानिन्छ त्यसैले मकर संक्रान्ति जहाँबाट सूर्यको उत्तरायण गति आरम्भ हुन्छ , राशिको चलनपछि पवित्र दिन मानिने परम्परा बन्यो । मकर संक्रान्तिमा तिललाई किन बढी प्राथमिकता दिइन्छ यसको स्पष्ट व्याख्या कहीँ पनि पाइदैन । सम्भवतः मकर संक्रान्तिको समयमा जाडो भएका कारण तिलको प्रयोगले भएको हुन सक्ने अनुमान लगाइन्छ । इस्वी सन प्रारम्भ हुनु अगाडी मकर संक्रान्ति भने थिएन । ’संक्रान्ति’को अर्थ हुन्छ सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्नु हुन्छ । त्यसैले त्यो राशि जसमा सूर्य प्रवेश गर्छ त्यसलाई संक्रान्तिको संज्ञाले चिनिन्छ । राशिको संख्या १२ हुन्छ । मेष, वृषभ, मिथुन, कर्क, सिंह, कन्या, तुला, वृश्चिक , धनु, मकर, कुम्भ, र मीन । मलेमास परेपछि पनि राशि भने १२ नै हुन्छ । प्रत्येक संक्रान्तिलाई पवित्र मानिन्छ । मत्स्यपुराणमा संक्रान्ति व्रतको वर्णन गरिएको पाइन्छ ।
