

एजेन्सी ।
भारतको केरला राज्यअन्तर्गत पथनमथिट्टामा १८ वर्षीया दलित छात्रालाई सामूहिक बलात्कार घटनाका ६४ आरोपितमध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू छात्राका छिमेकी, बुबाका साथी, खेलकुद प्रशिक्षक र अन्य व्यक्ति छन् । जसमध्ये दुई आरोपित १७ वर्षका नाबालिग छन् भने अन्य १९ देखि ४७ वर्षका छन् । यस घटनामा अहिलेसम्म आठवटा एफआईआर दर्ता भइसकेका छन् । यी जाहेरी दुई प्रहरी चौकीमा दर्ता भएका हुन् ।
पथनमथिट्टा जिल्लाका डेपुटी एसपी नन्दकुमार एसले बीबीसी हिन्दीलाई भने, ‘एससी–एसटी ऐन र पोक्सोअन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ, किनभने यी अपराध पाँच वर्षमा भएका छन् । पीडित त्यतिबेला नाबालिग थिइन् ।’
उनले थपे, ‘यसबीच सामूहिक बलात्कारका तीनवटा घटना भएका छन् ।’ यस मुद्दामा पीडितका छिमेकी र बाल्यकालको साथीलाई पहिलो अभियुक्त बनाइएको छ। त्यतिबेला पीडित विद्यार्थी १३ वर्षकी थिइन् । यसबाहेक विद्यार्थीको साथी सामूहिक बलात्कारको कम्तीमा एउटा घटनामा संलग्न भएको आरोप छ ।
पथनमथिट्टा जिल्ला अपराध शाखाको मिडिया सेलका सजीव एमले भने, ‘पहिलो अभियुक्तको फोनमा यौन दुव्र्यवहारका प्रमाण छन्, जसबाट उसले विद्यार्थीलाई ब्ल्याकमेल गर्न, यौन शोषण गर्न र आफ्ना साथीहरूकहाँ लैजाने गरेका कुरा खुल्छन् ।’
यो कुरा कुटुम्बश्री ’स्नेहिता’ कार्यक्रमअन्तर्गत सामुदायिक काउन्सिलरको टोलीले पीडितको घर पुग्दा खुल्यो । बाल कल्याण समिति, पथनमथिट्टाका अध्यक्ष तथा अधिवक्ता एन राजीवले बीबीसी हिन्दीलाई भने, ‘यस कार्यक्रमअन्तर्गत धेरै परिवारको विवरण संकलन गरिन्छ र उनीहरूको समस्या समाधानबारे परामर्श दिइन्छ ।’
पीडित र उनकी आमा सीडब्ल्यूसी अध्यक्षको कार्यालयमा गए, जहाँ पीडितले सबै कुरा बताइन् । ‘पीडितले हाम्रो मनोचिकित्सकसँग कुरा गरिन्, जतिबेला उनकी आमा बाहिर पर्खिरहेकी थिइन् । आमालाई उनको श्रीमान्को फोन ल्याउन भनियो र यसरी अपराधीहरूको नाम खुलासा भयो’, राजीवले भने । सामान्यतया सीडब्ल्यूसीले यो मामिला प्रहरी चौकीको स्टेसन हाउस अफिसरलाई रिपोर्ट गर्ने अपेक्षा गरिन्छ ।
तर राजीवले भने, ‘हामीलाई लाग्यो कि यो एउटा पृथक घटना हो । त्यसैले हामीले प्रहरी उपरीक्षकलाई जानकारी गरायौँ र उनले तुरुन्तै कारबाही अघि बढाए ।’
