

एजेन्सी ।
भारतका विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम छ ।
यस सपथ ग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्पको सपथग्रहण समितिको निमन्त्रणामा बिदेश मन्त्री एस जयशंकर जाने तय भएको छ ।’ अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा उनले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले त्यहाँको भावी प्रशासनका प्रतिनिधिका साथै समारोहमा भाग लिन आउने अन्य विशिष्ट व्यक्तिसँग भेटघाट गर्नेछन् । प्राप्त जानकारी अनुसार सपथ ग्रहण समारोह जनवरी २० मा मध्यान्ह १२ बजे (नेपाली समय अनुसार ११ः४५ बजे राति) सुरु हुनेछ ।
यस समारोहमा विश्वभरका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ । यस अवसरमा धेरै देशका प्रमुखहरू पनि उपस्थित हुन सक्ने बताइएको छ ।
