

जनकपुरधाम ।
अयोध्यामा भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठा भएको वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा दीपोत्सव गरिएको छ । जानकी सेनाको आयोजनामा राम मन्दिर निर्माण तथा भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको वार्षिकोत्सवको अवसरमा जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा दीपोत्सव गरिएको हो ।
मन्दिरको प्राङ्गणमा आकर्षक रंगोली बनाइनुका साथै सवा लाख बढी दीप प्रज्वलन गरिएको छ । विश्व हिन्दु परिषद नेपाल धनुषाले पनि विभिन्न कार्यक्रम गरेको छ । परिषद्का अध्यक्ष संतोष साहले श्रीराम मन्दिर निर्माणको संघर्ष र बलिदानको इतिहासलाई जनसमक्ष ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
गत वर्ष जनवरी २२ तारिखका दिन अयोध्यास्थित भगवान रामको भव्य नवनिर्मित मन्दिरको उदघाटनका साथै भगवान रामको प्रतिमा स्थापित गरिएको थियो । यद्यपि तिथिको हिसाबले शनिबार वार्षिकोत्सव परेकाले अयोध्यामा ३ दिवसीय भव्य कार्यक्रमको आयोजना गरिएको हो ।
