

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । रुपन्देहीका एसपी रन्जितसिंह राठौरले प्रतिवेदन बुझाएको पुष्टि गरे ।
‘हामीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छौं । बाँकी काम अब उतैबाट हुन्छ,’ एसपी राठौरले भने । लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रहरी स्रोतका अनुसार रुपन्देही प्रहरीले आज शुक्रबार मात्रै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
अहिले पूरक अभियोजनमा रविसहित कतिजना प्रतिवादी बनाइने र बिगो कति र जाहेरकर्ता कति भन्ने विषय प्रहरीले केही पनि खुलाएको छैन ।
प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर आइतबार सोमबारतिर सरकारी वकिल कार्यालय रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
