

जनकपुरधाम ।
सिरहाको लहानस्थित कृषि विकास बैंकले प्रक्रिया छलेर जग्गा लिलाम गरेको भन्दै पीडित परिवारले थालेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ ।
लहान नगरपालिका–२ का रामचन्द्र यादवको पूर्वपश्चिम राजमार्गमै टाँसिएको ७ धुर जग्गा बैंकले प्रक्रिया मिचेर लिलाम गरेको भन्दै उनको परिवार आन्दोलित भएको हो । उनीहरु राजमार्गमै सुतेर बैंकविरुद्ध आवाज उठाउँदै बिलौना गरिरहेका थिए ।
सडकमा ऋणी परिवार सुतेर बिरोध प्रदर्शन गर्न थालेपछि राजमार्ग भएर सवारी आवागमन ठप्प भएको थियो । प्रहरीले आन्दोलनको समर्थनमा पुगेका स्थानीयलाई लाठी चार्ज गर्दै शुरुमा भगाए भने त्यसपछि प्रहरीले रामचन्द्रको परिवारलाई घिसारेर सडकबाट हटाएर राजमार्ग खुलाएका थिए ।
प्रहरीले आन्दोलनकारीलाई घिसारेको भिडिओ सामाजिक सञ्जालमा धेरैले सेयर गर्न थालेका छन् । जग्गा लिलामसम्बन्धी विवादमा एउटा समूहले बैंक जलाउन खोज्दा बल प्रयोग गरेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रसाद सोतीले बताए । उनले भने, ‘सडकमा सुतेपछि गाडीले किच्न सक्छ नी, त्यसैले सडकबाट हटाएका छौं ।’
सडक खुलाउने नाममा पीडित परिवार र आन्दोलनमा सहयोग गर्नेमाथि प्रहरी निर्मम बनेको स्थानीयको आरोप छ ।
रामचन्द्रले ०७७ फाल्गुन १५ मा कृषि विकास बैंक लहान शाखाबाट ३० लाख रूपैयाँ ऋण लिएका थिए । मंसिरको किस्ता तिरेको उनको दाबी छ ।
