

जनकपुरधाम ।
राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको टुङ्गो लगाएको छ । पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै पदाधिकारीसहित विभिन्न केन्द्रीय निकायका प्रमुखहरू समेतको जिम्मेवारी तोकेको हो ।
पार्टीको अध्यक्षमा महतो (सर्लाही) स्वयं रहेका छन् भने तीन जना वरिष्ठ उपाध्यक्ष बनाइएको छ । वरिष्ठ उपाध्यक्षहरूमा कमला कुमारी गुरुङ (पर्वत), रामनरेश राय यादव (सर्लाही) र सुमन सायमी (काठमाडौँ) रहेका छन् । पार्टीमा ४ जना उपाध्यक्ष नियुक्त गरिएको छ । डा. राजीव कुमार झा(धनुषा), कौशलकुमार सिंह (सिरहा), राजेन्द्र प्रसाद पाठक(धादिङ) र ओम प्रकाश यादव(रुपन्देही) लाई उपाध्यक्षको जिम्मेबारी दिइएको छ ।
त्यस्तै, पार्टीमा ५ जना महासचिव रहेका छन्, जसमा केशव कुमार झा (सप्तरी), मिङमार तामाङ (सिन्धुपाल्चोक), रमेश योङहाङ (पाँचथर), सन्तोष कुमार मेहता (सुनसरी) र अनिल कुमार महासेठ (सिराहा) छन् ।
कोषाध्यक्षको जिम्मेवारी काठमाडौँका नरेन्द्र बज्राचार्यले पाएका छन् भने काठमाडौँका रबिन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयलाई प्रवक्ता तोकिएको छ ।

