

जनकपुरधाम ।
हलेसी महादेवको दर्शन गरेर सिरहा फर्किंदै गरेको यात्रुबाहक गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
सिरहाको नरहा नगरपालिका–५ फर्किंदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडास्थित डौठे खोलानजिक बिहान दुर्घटनामा परेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । घाइते तीन जनालाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक सुशान्त मिश्रका अनुसार गाडी करिब २०० मिटर तल खसेको थियो । गाडीमा करिब १७ जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
