

जनकपुरधाम ।
मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको छ ।
जसपा नेपाल मधेसको संसदीय दलको नेता एवं मधेसका पूर्व मुख्यमन्त्री सरोज यादवको अध्यक्षतामा बसेको विपक्षी दलहरुको बैठकबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरिएको जसपा नेपालको प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए । सरकारले गत साउन ६ गते नै खडेरीबाट त्रस्त मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपनि किसान र कृषिकालागि खासै केही गर्न नसकेकाले सरकारमाथि दवाब बनाउने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरिएको प्रदेशसभा सदस्य यादवले बताए ।
विपक्षी दलहरुले संयुक्त रुपमा आजै प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । दिउँसो २ बजे बुझाइने सो ध्यानाकर्षण पत्रमा किसानका लागि राहत प्याकेजको माग, किसानहरुको ऋण मिनाहा, सिचाईको तत्काल उचित प्रबन्ध, सतही सिचाई तथा भूमिगत जलश्रोतको प्रबन्ध मिलाउन नदी, नाला, पोखरी लगायतका जलाशयहरुको मरम्मत सम्भार गर्नुपर्ने सहितका माग समेटिएका छन् ।
विपक्षीहरुको सो बैठकमा जसपा नेपाल अतिरिक्त नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेपाल संघीय समाजवादी पार्टी सहभागी भएको थियो ।
