

काठमाडौँ ।
नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबाट प्राप्त गरेको आय–व्ययको विवरणको सार्वजनिक गरेको छ ।
बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय–व्ययको विवरण सार्वजनिक गरेको हो ।
एनपीएलको पहिलो संस्करणबाट २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको क्यानले जानकारी दिएको छ ।
कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन् ।
राजस्व बाँडफाँडपछिको क्यानको शुद्ध नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको प्रवक्ता लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
