

एजेन्सी ।
गृष्मकालीन ओलम्पिक खेलकुदको आगामी संस्करण सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ । यो ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने भएको छ ।
क्रिकेटलाई १ सय २८ वर्षपछि ओलम्पिकमा समावेश गर्न लागिएको हो । लस एन्जल्स ओलम्पिक टी–२० ढाँचामा खेलाइने छ भने प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टोलीको सहभागिता रहने छ ।
तर, लस एन्जल्स ओलम्पिकमा पाकिस्तान, न्युजिल्यान्डलगायत केही चर्चित टोलीको सहभागिता अनिश्चित बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ओलम्पिक छनोटका लागि आफ्नो नयाँ नियम सार्वजनिक गरेको छ ।
बेलायती समाचारपत्र द गार्जियनका अनुसार, आगामी ओलम्पिकमा एसिया, ओसेनिया, युरोप र अफ्रिका महादेशबाट एक–एक टोली सहभागी हुनेछन् । सम्बन्धित महादेशको वरीयतामा पहिलो स्थानमा रहने टोलीले स्वतः ओलम्पिकमा छनोट हुने नियम आईसीसीले बनाएको छ ।
अमेरिकी क्रिकेट टोलीले भने आयोजक राष्ट्रको नाताले स्वतः ओलम्पिक खेल्नेछ । छैटौँ टोलीको छनोट कसरी गर्ने भन्ने विषयमा अहिले केही बताइएको छैन । यस्तो स्थितिमा वेस्ट इन्डिजको सहभागिता पनि अन्यौलमै देखिन्छ ।
आईसीसीको पछिल्लो टी–२० वरीयता अनुसार, एसियामा भारत, ओसेनियामा अस्ट्रेलिया, युरोपमा इङ्ल्यान्ड र अफ्रिकामा दक्षिण अफ्रिकी टोली पहिलो पहिलो स्थानमा छन् । त्यसैले यी राष्ट्र सिधै ओलम्पिकमा छनोट हुने बताइएको छ ।
पछिल्लो टी–२० वरीयतामा न्युजिल्यान्ड चौथो स्थानमा छ । तर, ओसेनिया क्षेत्रमा भने न्युजिल्यान्ड दोस्रो स्थानमा छ । त्यसैले न्युजिल्यान्डको ओलम्पिक खेल्ने सम्भावना देखिँदैन । एसियाली क्षेत्रमा पनि टेस्ट राष्ट्र पाकिस्तान, श्रीलंका र बंगलादेश टी–२० वरीयतामा भारतभन्दा पछाडि छन् ।
यसैगरी, आगामी ओलम्पिकमा महिला टोलीको छनोट भने सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपको वरीयताका आधारमा हुने बताइएको छ । ओलम्पिक खेलकुदमा यसअघि सन् १९०० मा क्रिकेटलाई समावेश गरिएको थियो ।
फ्रान्सको पेरिसमा आयोजित त्यो ओलम्पिकमा क्रिकेटको स्वर्ण पदक बेलायतले जितेको थियो । बेलायती टोलीले फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई हराएको थियो । उक्त ओलम्पिकमा क्रिकेटको एक खेलमात्र खेलिएको थियो । त्यही खेलबाट नै उपाधिको छिनोफानो गरिएको थियो ।
