

एजेन्सी ।
विश्व क्रिकेटमा भारत र पाकिस्तान एक–अर्काका चिर प्रतिद्वन्द्वी हुन् । यी दुवै राष्ट्रको राजनीतिक सम्बन्धको छायाँ क्रिकेटमा पनि पर्ने गरेको छ । त्यसैले यी दुवै टोलीबीच लामो समयदेखि द्विपक्षीय शृंखला पनि खेलिएको छैन ।
भारतको पहलगाममा भएको आतंकाकारी आक्रमणपछि त झन् भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पाकिस्तानसँग कुनै पनि प्रतियोगिता नखेल्ने औपचारिक घोषणा नै गरेको छ । बीसीसीआईको यो घोषणा अहिले आफ्नै लागि चिन्ताको विषय बनेको छ ।
अहिले इङ्ल्यान्डमा वल्र्ड च्याम्पियनसिप अफ लिजेन्ड्स क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो प्रतियोगितामा भारत र पाकिस्तान दुवै टोली सेमिफाइनलमा पुगेका छन् । संयोग पनि गजबको जुरेको छ । सेमिफाइनलमा यी दुवै टोली नै एक–अर्काको प्रतिद्वन्द्वी बनेका छन् ।
यस्तो स्थितिमा भारतले पाकिस्तानी टोलीसँग नखेल्ने हो भने पाकिस्तानी टोली सेमिफाइनल नै नखेली सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछ । भारतीय क्रिकेट समर्थक यो अवस्था आओस् भन्ने पनि चाहँदैनन् । यो स्थितिमा भारतले कस्तो निर्णय लिन्छ, त्यो प्रतिक्षाको विषय बनेको छ ।
जबकी यही प्रतियोगिताको प्रारम्भिक चरणमा पनि भारत र पाकिस्तानबीच खेल परेको थियो । तर, भारतीय टोलीले पाकिस्तानसँग खेल्न मानेन । त्यसैले वल्र्ड च्याम्पियनसिप अफ लिजेन्ड्स क्रिकेट प्रतियोगिताको आयोजकले त्यो खेल रद्द भएको घोषणा गरेको थियो ।
तर, सेमिफाइनल खेल रद्द गर्न पनि मिल्दैन । नियमानुसार, खेल रद्द भएमा पाकिस्तान स्वतः फाइनलमा पुग्नेछ । भारत र पाकिस्तानबीचको सेमिफाइनल खेल बिहीबार खेलिने कार्यक्रम छ । सोही दिन अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
