

काठमाडौं ।
सरकारले जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको सूची अद्यावधिक गर्ने तयारी गरेको छ । मंगलबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा कानुन मन्त्री अजयकुमार चौरसियाले उच्चस्तरीय समिति गठन गरी सूची अद्यावधिक र दीगो समाधानको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार शान्ति प्रक्रिया अन्तर्गत द्वन्द्वपीडितलाई जीवन निर्वाह भत्ता, क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगारी र स्वरोजगारका कार्यक्रम सञ्चालन गरिनेछ । चालु आर्थिक वर्षको बजेटमा शान्ति कोषमार्फत एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
द्वन्द्वका घाइतेलाई गणतान्त्रिक योद्धा सम्मान दिने, अपाङ्गता पुनरावलोकन गर्ने र उपचारका लागि ट्रमा सेन्टर तथा वीर अस्पताललाई डेडिकेटेड अस्पताल बनाइने मन्त्री चौरसियाले बताए ।
