

जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सुख्खाग्रस्त मधेशमा ५०० वटा बोरिङ खन्ने घोषणा गरेपछि विद्युत आपूर्तिका चुनौती र तयारी बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जनकपुरधाम आइ पुगेका छन् । उनले मधेश प्रदेशका विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरूसँग विस्तृत छलफल गरेका छन् ।
चितवनको विद्युत आपूर्तिको अवस्था अवलोकनपछि जनकपुरधाम आएका शाक्यले सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायत जिल्लाका प्रमुखहरूसँग सिँचाइ प्रयोजनका लागि प्रस्तावित बोरिङ स्थानहरूमा आवश्यक विद्युत आपूर्तिको रणनीतिबारे विचारविमर्श गरेका हुन् ।
“सुख्खाको मारमा परेका किसानलाई समयमै राहत दिन बोरिङ स्थापनासँगै विद्युत आपूर्ति सुनिश्चित गर्न फिल्डमा खटिएका हौं,” उनले भने, “अबको एक महिनाभित्र बोरिङ जडान सक्ने लक्ष्यसहित हामी काम गरिरहेका छौं ।”
निर्देशक शाक्यले वितरण केन्द्र प्रमुखहरूलाई स्थानीय किसानसँग समन्वय गर्दै कहाँ, कसरी र कुन प्राथमिकतामा बोरिङ जडान गरिने हो भन्नेबारे फिल्ड अध्ययन गर्न निर्देशनसमेत दिएका छन् । उनले बोरिङ सञ्चालनका लागि आवश्यक ट्रान्सफर्मर, लाइन विस्तार र लोड व्यवस्थापन लगायतका पूर्वाधार निर्माणमा ढिलाइ हुन नदिन निर्देशन दिएका छन् ।
