

जनकपुरधाम ।
नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरू पुनः चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । आफ्नो मागप्रति वेवास्ता गरिएको भन्दै कर्मचारीहरूले आन्दोलनलाई सशक्त रूपमा अगाडी बढाउने गरी आन्दोलित भएका हुन् ।
प्राधिकरणको सञ्चालक समितिको बैठकबाट २०८० साउन ३१ ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय लामो समयसम्म कार्यान्वयनमा नआएपछि आफूहरु आन्दोलनमा उतरिएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी मधेस प्रदेश संघर्ष समितिका अध्यक्ष शम्भु मिश्रले बताए । आफूहरु अहिले कालोपट्टी बाँधेर शान्तिपूर्ण धर्नामा बसेका छौँ, माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रमहरु गर्नेछौँ मिश्रले चेतावनी दिए ।
दैनिक ज्यालादारी कर्मचारी केन्द्रीय संघर्ष समितिले मिति २०८२ साउन ११ गते प्राधिकरणलाई पत्र पठाउँदै माग सम्बोधन नगरेको अवस्थामा आन्दोलन गर्ने चेतावनी दिएको थियो । समितिले यसअघि पनि प्राधिकरणसँग पटक–पटक सहमति तथा सम्झौता गरिसकेको तर त्यसको पालना नभएको आरोप लगाएको छ ।
केन्द्रीय संघर्ष समितिकै आन्दोलनका कार्यक्रम अनुसार मधेस प्रदेशमा रहेको विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीहरु नेपाल विद्युत प्राधिकरणको मुजेलिया स्थित कार्यालयमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुन् । देशै भरी २ हजार ८ सय १३ जना ज्यालादारी कर्मचारी छन् भने मधेस प्रदेशमा ४ सय ७८ जना ज्यालादारीमा कर्मचारीहरु कार्यरत छन् । उनीहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
