

जनकपुरधाम ।
मधेस प्रदेशको ४६ प्रतिशत भूभागमा आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म हल्कादेखि मध्यम वर्षा भएको छ । लामो खडेरीका कारण सिँचाइ र खानेपानीको गम्भीर संकट भोगिरहेको मधेसमा थोरै पानी परेपछि तापक्रममा केही कमी आए पनि समस्या यथावत् रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हल्का वर्षाले तत्कालिक रूपमा धुलो र छारो मेटिएको छ तर यसले मधेसको संकट समाधान गर्न पर्याप्त छैन । “पर्याप्त पानी पर्न सकेन, हल्का पानीले छारो मेटेको छ,” पोखरेलले भनिन्, “मधेसको जमिन अत्यधिक सुकेको छ, निरन्तर पानी परे मात्र संकट टर्नेछ ।”
खडेरीले पिल्सिएका स्थानीयले थोरै वर्षाले पनि केही राहत पाएको अनुभव गरेका छन् । तर पानीको मात्रा न्यून भएकाले बाली सिँचाइ र पिउने पानीको अभाव अझै कायमै छ ।
मौसम पूर्वानुमानका अनुसार सोमबार मधेसमा थप वर्षाको सम्भावना कम देखिएको छ । भने, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तथा केही तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पनि सोमबार मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ ।
