

जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशलाई सुक्खाबाट जोगाउन तत्काल र दीर्घकालीन गरी दुई चरणमा समाधान योजना ल्याइने बताएका छन् ।
महोत्तरीको मटिहानीमा विग्ही पुल र प्रसुति गृहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्लाहीबाट हेलिकप्टरमार्फत मधेसको सुक्खा क्षेत्रको अवलोकन गर्दा अधिकांश क्षेत्रमा रोपाइँ नभएको, पोखरी सुक्दै गएको, र खानेपानी तथा सिँचाइको चरम अभाव देखिएको बताए । उनले मधेशमा देखिएको अनावृष्टि, जलस्रोतको अभाव र खेतीयोग्य जमिनमा रोपाइँ हुन नसकेको अवस्था प्रत्यक्षरूपमा हेर्न पाइएको उल्लेख गरे ।
प्रधानमन्त्रीका अनुसार मधेशको संकटलाई मध्यनजर गर्दै मन्त्रिपरिषद् बैठकमार्फत यस क्षेत्रलाई संकटग्रस्त घोषणा गरिएको हो । तर, उनले केवल घोषणा गरेर समाधान नहुने भएकाले तत्कालका लागि व्यावहारिक उपायहरू अवलम्बन गरिने स्पष्ट गरे ।
तत्काल समाधानको रूपमा प्रधानमन्त्री ओलीले पाँच सय डिप बोरिङ जडान गरिने जानकारी दिए । जसबाट प्रत्येक बोरिङले औसत ६० बिग्हा जमिन सिँचाइ गर्न सक्ने अपेक्षा गरिएको छ । यसबाट केही हदसम्म तत्काल सिँचाइको समस्या समाधान हुने प्रधानमन्त्री ओलील्े विश्वास व्यक्त गरे ।
उनले सप्तरी जिल्लामा कोशी नदीका कारण सुक्खाको प्रभाव केही कम देखिए पनि बाँकी सातवटा जिल्लामा अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए । दीर्घकालीन समाधानको खाका प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले चुरे क्षेत्रबाट पानीको संरक्षण, तालतलैया र पोखरी निर्माण, तथा जमिनको सतहबाट पानी तल नजाने गरी रिचार्ज प्रणालीको विकास गरिने योजना सार्वजनिक गरे ।
उनले यस्तो प्रयासले मधेशको भूमिमा जलधाराको सन्तुलन कायम गर्ने र दीर्घकालीन रूपमा सिँचाइ तथा खानेपानीको सुनिश्चितता दिने बताए ।

