

जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आज महोत्तरीको मटिहानी तथा बाराको परवानीपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली महोत्तरी र बारामा गरी दुईवटा पुल र दुईवटा भवनको उद्घाटन गर्ने कार्यक्रमसहित मधेश आउन लागेका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायण प्रसाद रिसालका अनुसार मटिहानी नगरपालिकास्थित बिगही खोलामा निर्माण गरिएको पुल, मटिहानीकै प्रसूतिगृह भवन, र लोहारपट्टी–बलवा नगरपालिकालाई जोड्ने रातो नदीको पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री बिहान ११ः३० बजे हेलिकप्टरमार्फत महोत्तरीमा अवतरण गर्ने छन् । त्यसपछि क्रमशः बिगही पुल, मटिहानीको प्रसूतिगृह भवनको उद्घाटन तथा मञ्चीय सम्बोधन कार्यक्रम तय भएको प्रजिअ रिसालले जानकारी दिए ।
उक्त कार्यक्रमपछि प्रधानमन्त्री ओली बारातर्फ प्रस्थान गर्नेछन् । बाराको लोहारपट्टी–बलवा जोड्ने पुल उद्घाटन गरेपछि उनी परवानीपुर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनमा सहभागी हुने छन् । दिउँसो २ बजे त्यहाँ प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम समेत रहेको बाराका प्रजिअ बसन्त अधिकारीले बताए ।
