

एजेन्सी ।
टर्कीको इस्तानबुलमा बुधबार भएको वार्ता पछि रुस र युक्रेन बन्दी रिहा गर्नका लागि सहमत भएका छन् ।
इस्तानबुलमा बुधबार आधा घण्टा भन्दा छोटो समयमा सकिएको वार्तामा सो सहमति भएको हो । युद्ध विरामका लागि प्रयास भने दुई देशका राष्ट्रपतिको भेटमा नै अघि बढ्ने जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनको डेट लाइन दिएपछि यो वार्ताअघि बढेको हो । रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनले भने ट्रम्पको अभिव्यक्तिको बारे कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
टर्कीमा वार्ता जारी रहेकै समयमा पनि रुसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमण गर्न छाडेको छैन ।
बुधबारको वार्तापछि युक्रेनको नेतृत्व गरिरहेका पूर्व रक्षा मन्त्री रुस्तम उमेरोभले अगस्टको अन्त्यमा वार्ताको प्रस्ताव गरेको बताए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिकायप तैयावको उपस्थितिमा वार्ता भए निष्कर्ष निकाल्न सहज हुने पनि बताएका छन् ।
वार्ताको नेतृत्व गरिरहेका रुसी राष्ट्रपति पुटिनका एइडिआई भ्लाडिमिर मेडिन्सकीले युद्ध विरामको नजिक पुगेपछि मात्र त्यसरी शीर्ष तहको वार्तामा औचित्य हुने कुरा रोयटर्ससँगको अन्तरवार्तामा बताएका छन् ।
युद्ध विरामको मुख्य शर्तका विषयमा भने सहमति भएको छैन । युक्रेनले पूर्ण युद्ध विराम प्रस्ताव गरेको छ भने रुसले अल्पकालीन युद्ध विरामको प्रस्ताव गरेको छ । रुसले सुरुमा २४ देखि ४८ घण्टाको युद्ध विराम गर्दै शवको खोजी गर्ने र घाइतेको उद्धारमा सक्रिय हुने योजना अघि ल्याएको छ ।
दुवै टोली २५० बन्दी रिहा गर्न सहमत भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । निकट भविष्यमा नै थप १२ सय बन्दी रिहा गर्ने कुरामा पनि सहमति भएको छ । मे र जुन महिनामा भएको वार्तामा पनि बन्दी रिहा गर्ने सहमति भएको थियो ।
