

जनकपुरधाम ।
धनुषाको हँसपुर नगरपालिका–६ सोनिगामाका शम्भु साहले १६ वर्षीय छोरा आयुष साहको मृत्यु जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचारको क्रममा चिकित्सकको लापरवाहीका कारण भएको आरोप लगाउँदै आईरहेका छन् ।
शम्भुका अनुसार, आयुष गत वर्ष माघ १९ गते सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । त्यसै दिन उनलाई जनकपुरधामको न्युरो अस्पतालमा भर्ना गरिए पनि आवश्यक समयमा उपचार नपाएको र चिकित्सकको गम्भीर लापरवाहीका कारण छोराको ज्यान गएको उनले दाबी गरे ।
यद्यपि, न्युरो अस्पताल प्रशासनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेको छ । अस्पतालका सञ्चालक विजय राउतले मङ्गलबार पत्रकार सम्मेलन गर्दै आयुषको अवस्था अस्पतालमा ल्याउँदाको समयमै अत्यन्त गम्भीर (क्रिटिकल) रहेको स्पष्ट पारे ।
‘सिटी स्क्यानसहितका प्रारम्भिक रिपोर्टहरूले नै देखाएको थियो कि उनको अवस्था अन्तिम चरणमा थियो । यो जानकारी तत्कालै उनका अभिभावकलाई दिइएको थियो,सञ्चालक राउतले भने । आयुषको अभिभावकले फागुन २६ गते उनलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगेका थिए ।
अस्पतालले मृत्युअघि बालकको उपचार फागुन २६ गतेसम्म मात्र आफूले गरेको र त्यसपछि मृत्यु काठमाडौंमा भएको दाबी गरेको छ ।
यस घटनालाई लिएर सामाजिक सञ्जालमा अस्पतालप्रति आलोचना भइरहेका बेला राउतले सार्वजनिकरूपमा अस्पताललाई बदनाम गराउने प्रयास भइरहेको गुनासो गरे ।
उपचार खर्चको विषयमा पनि विवाद उठेको छ । मृतकका अभिभावकले अस्पतालमा ४०–४५ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् भने, अस्पतालका अनुसार वास्तविक खर्च झण्डै १० लाख रुपैयाँ मात्र हो । ‘परिवारले ३ लाख २० हजार रुपैयाँ नगद तिरेका छन् भने ५ लाख ९२ हजार रुपैयाँको चेक एक वर्षको म्याद थप गरेर दिएका छन् । हामीले त्यो चेक स्वीकार गरेका छौं,’ सञ्चालक राउतले जानकारी दिए ।
अस्पतालले संवेदनशील घटनालाई अनावश्यक विवादमा नतानेर तथ्यमा आधारित मूल्यांकन गर्न आग्रह गरेको छ ।
