

जनकपुरधाम ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस धनुषाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टीको जिल्ला कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा ६१ जना नेता, कार्यकर्ता तथा स्थानीयवासीले रक्तदान गरेका छन् । कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारका अनुसार नेपालको राजनीतिमा अग्रणी भूमिका निर्वाह गरेका विपी कोइरालाको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागीहरूले स्वेच्छिक रक्तदान गरेर उदाहरणीय योगदान पु¥याएका छन् ।
यसअघि विपी कोइरालाको योगदान र विचारमाथि कांग्रेसका नेता तथा कार्यकर्ताहरूले मन्तव्य राखेका थिए । वक्ताहरूले विपीको समाजवादी सोच, लोकतान्त्रिक मूल्य र मानव अधिकारप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै त्यसै दिशामा पार्टीले अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

