

जनकपुरधाम ।
धनुषाको एक विद्यालयको कक्षा कोठामा ४ दिनअघि झुन्डिएको अवस्थामा मृत फेला परेकी शिक्षिकाको आत्महत्यामा ऋणसंग जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा सोही स्थानकी ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर फेला परेकी थिइन । शिक्षिका मगरले सोही विद्यालयमा बाल विकास कक्षामा पढाउँदै आएकी थिइन् ।
गत साउन १ गते बिहान जमुनिबासमा विद्यालय कक्षा कोठामा मृत फेला परेपछि घटनाबारे अनुसन्धान थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मृतक मगरले ऋण लिएकी थिइन् । घटनास्थल नजिकै रहेको मगरको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको जनाएको छ ।
घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिटरब्याजी यादव समेत जोडिएको देखिएकाले उनलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।
ऋण चुक्ता गरिसकेको भए पनि यादवले खाली चेक लिएर ४५ लाख रुपैयाँ उल्लेख गरेर बार्गेनिङ गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
यादवले पटक पटक मानसिक यातना, धाक धम्की र बेज्जती गर्ने चेतावनी दिएको अनुसन्धानबाट खुलेको धनुषाका डिएसपी सिंहले बताए ।
यादवको घरबाट प्रहरीले विभिन्न व्यक्तिका नाममा भएका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकहरू समेत बरामद गरेको छ ।
परिवारजनका अनुसार मिटरब्याजी यादवले असार ३२ गते घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए । नभए चेक बाउन्स गरेर जेल पठाउने धम्की दिएका थिए । मृतक मगरले ऋण लिएको कुरा परिवारका केही सदस्यले मात्रै थाहा रहेको परिवारजन बताउँछन् ।
