

स्नेहा निधि
जनकपुरधाम ।
महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका ३१ वर्षीय बिमलेश यादवको हत्या आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरिएको छ । यद्यपि प्रहरीले हत्यामा संलग्न युवतीको नाम र ठेगाना भने खुलाएको छैन ।।
यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।
यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै केटी साथी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
शनिबार राति ९ बजेर ५० मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसीटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ । त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद छ ।
केहीबेरपछि प्रहरीहरु आएर घाइते यादवको बयान लिन्छन् । प्रहरीलाई बयान दिइसकेपछि यादव आफैं हिँडेर एम्बुलेन्स चढेको सिसिटीभी फुटेजमा स्पष्ट देखिन्छ । आइतबार बिहान ७ः४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा आरोपीमाथि नै अनुसन्धान केन्द्रित छ ।
विवाहोत्तर सम्बन्धले लियो विमलेशको ज्यान
विमलेश विवाहित थिए र उनको दुई सन्तान पनि थियो । विमलेश र आरोपीबीच विगत ४ वर्षदेखि सम्बन्ध थियो । उनीहरुको सम्बन्धलाई लिएर दूबै परिवारबीच पटक पटक विवाद हुँदै आईरहेको थियो । विवादपछि दूबै परिवारबीच अबदेखि कुराकानी नगर्ने सहमति भएको थियो ।
पछि विमलेश वैदेशिक रोजगारीका लागि विदेश गए तर उनीहरुबीच कुराकानी जारी रह्यो । विमलेशले कमाएको केही रकम पनि आरोपीलाई पठाउने गरेको ती आफन्त सुनाउँछन् । उनी भन्छन्, ‘विमलेश दुईपटक वैदेशिक रोजगारीमा जाँदा कमाएको रकम आरोपीलाई पठाएको करिब २७ लाखको भौचर सुरक्षित छ ।’
दुई वर्ष अघि कतार गएका विमलेश ६ महिना अघि मात्र फर्केका थिए । पछि आरोपी आफैंले छुट्टिने कुरा गरिन् । त्यसपछि उनीहरुबीच खटपट शुरु भएको थियो । त्यसपछि विमलेशले आफूले विदेशबाट पठाएको पैसा फर्काउन भनेपछि विवाद उग्र बनेको थियो ।
