

१९औं शताब्दीमा कम्प्युटरको आविष्कार र सन् १९६० को दशकको अन्त्यतिर इन्टरनेटको आविष्कार पछि, हाम्रो अधिकांश काम अनलाइनमार्फत गरिन्छ । आम मानिसको वर्षौंदेखि अनलाइन प्लेटफर्महरूमा निर्भरता बढ्दै गएको छ, र मानिसहरूले सिक्ने, व्यवसाय, मनोरञ्जन, सामाजिकीकरण, आदिजस्ता विभिन्न उद्देश्यका लागि विविध अनलाइन प्लेटफर्महरू प्रयोग गर्न थालेका छन् । सूचना र सञ्चार प्रविधिमा बढ्दो प्रगतिले आमनागरिकको दैनिक जीवनलाई सरल, सहज र छरितो बनाउन सञ्चार प्रक्रियाले आमूल परिवर्तन ल्याएको छ ।
सूचना र प्रविधिको यस युगमा, सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ । यसले हामीलाई एकअर्कासँग अन्तरक्रिया गर्ने तरिका र हामीले जानकारी उपभोग गर्ने र साझा गर्ने तरिकामा परिवर्तन ल्याएको छ । सामाजिक सञ्जालका धेरै फाइदाहरू भए पनि, यसले व्यक्तिगत गोपनीयताको बारेमा चुनौतीको लहरहरूलाई निम्त्याएको छ । सामाजिक सञ्जालको प्रयोग सर्वव्यापी बन्दै गए पनि, यी सञ्जालहरूको सुरक्षा र गोपनीयता बढ्दो चिन्ताको विषय बनेको छ ।
रिचर्ड बी पार्करले आफ्नो पुस्तक गोपनीयताकाबारे लेखेका छन्, ‘गोपनीयता भनेको हाम्रो विभिन्न भागहरू कसले र कहिले अरूले महसुस गर्न सक्छन् भन्ने कुरामाथि नियन्त्रण हो ।’ ‘विभिन्न भागहरू’ भन्नाले, उहाँले हाम्रो शरीरका अंगहरू, हाम्रो आवाज र हाम्रो शरीरको उत्पादनलाई बुझाउनुहुन्छ । यसमा ती वस्तुहरू पनि समावेश छन् जससँग हामी धेरै नजिकबाट सम्बन्धित छौं र जुन हामीलाई मात्र पहुँचयोग्य छन् । ‘अरूबाट महसुस गरिएको’ भन्नाले तिनीहरूले देखेका, सुँघेका, सुनेका, स्वाद लिएका वा अरूले छोएका छन् भन्ने बुझिन्छ ।
गोपनीयताको हक भन्नाले व्यक्तिहरूले आफ्नो व्यक्तिगत जानकारीको संकलन, प्रयोग र खुलासा नियन्त्रण गर्ने हकलाई जनाउँछ । यसमा कुन जानकारी संकलन भइरहेको छ, कसरी प्रयोग भइरहेको छ, र त्यसको प्रयोगमा सहमति दिने वा नदिन पाउने अधिकारहरू समावेश भएको हुन्छ । सामाजिक सञ्जालको प्लेटफर्महरूले प्रयोगकर्ताको डेटा संकलन र साझेदारी गर्ने भएकाले गोपनीयता हक अहिलेको परिवेशमा महत्त्वपूर्ण छ । अहिलेको वर्तमान डिजिटल युगमा यी अधिकारहरूलाई बुझ्न र सुरक्षित गर्न महत्त्वपूर्ण देखिन्छन् ।
नेपालको संविधान, २०७२ को धारा २८ ले गोपनीयताको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनेर संविधानमा व्यवस्था गरिएको छ । त्यसैगरी संविधानमा प्रत्याभूत गोपनीयताको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वैयक्तिक गोपनीयतासम्बन्धी ऐन २०७५ र वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली २०७७ पनि जारी गरी लागू भइसकेको छ । यी ऐन र नियमावलीले व्यक्तिगत सूचना, दस्तावेज, पत्राचार, तथ्यांक वा चरित्र आदिको गोपनीयता राख्न पाउने अधिकार सुनिश्चित गरेको भए पनि यसले सबै क्षेत्र तथा पक्षलाई र तथ्यांक संरक्षणको व्यवस्थालाई आवश्यक र पर्याप्त रूपमा समेट्न सकेको छैन ।
गोपनीयताको हकसम्बन्धी व्यवस्था अन्य कानुनहरू जस्तै मुलुकी अपराध संहिता, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० मा पनि व्यवस्था गरिएको छ । कानुनले गोपनीयतासम्बन्धी उल्लेखनीय रूपमा व्यवस्था गरिदिए पनि यसको कार्यान्वयन भने फितलो रहेको छ । अहिले आम मानिस न त आफ्नो गोपनीयताको हकमाथि सचेत छन् न त अन्य नागरिकको । मिथ्या समाचार र सूचनाको पछि लागेर कुनै पनि प्रमाणीकरण बिना नै सामाजिक सञ्जालमा आफ्ना तर्क र बेतर्क राख्न हतारिन्छन् जस्ले गर्दा उनीहरू स्वयम् र अन्यलाई पनि कानुनी तरोवरमा तानिन्छन् जानेर होस् या नजानेर । यसकारण सबै नागरिकलाई गोपनीयता के हो, कानुनी व्यवस्था के छ, के गरे गोपनीयता भंग हुन्छ, यसको अधिकारलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सामान्य जानकारी हुन आवश्यक देखिन्छ ।
सामाजिक सञ्जालको सन्दर्भमा गोपनीयतालाई आवश्यकतालाई कम बुझिएको छ र यसले गर्दा सामाजिक सञ्जालमा गोपनीयताको उल्लंघनका घटनाहरू बढ्दै गएको छ । समाचार रिपोर्टहरू र उपाख्यानात्मक प्रमाणहरूले महिला र किशोरकिशोरीविरुद्ध गोपनीयताको आक्रमणका धेरै घटनाहरू घटने गर्छ । सामाजिक सञ्जालमा कुनै जानकारी पोस्ट गर्ने र पुनः पोस्ट गर्ने धेरै प्लेटफर्महरूले महिलाहरूले साझा गर्न चाहेको व्यक्तिगत डेटा नियन्त्रण र नियमन गर्न गाह्रो बनाएको छ । निजी तस्बिर र भिडियोहरूको भाइरल सामाजिक सञ्जालमा एक सामान्य समस्या नै बनिसकेको छ । सामाजिक सञ्जालमा धेरैजसो महिलाहरू हिंसाको चपेटामा परेका छन् । आर्थिक लाभ, लालस, डर, त्रास र धम्काइ उनीहरूको गोपनीयता भंग गरेको घटना आज साइबर ब्युरोमा मुद्दाको चाङ नै लागिसकेको छ ।
आज सामाजिक सञ्जालहरू ह्याकरहरू र असामाजिक गतिविधि गर्ने अन्य अपराधीहरूको लागि रोजाइको प्लेटफर्म बन्दै गइरहेका छन् । यी मिडियाहरूले व्यक्तिको जन्म मिति, बसोबास स्थान, काम व्यवसायको स्थानदेखि लिएर परिवार र अन्य व्यक्तिगत गतिविधिहरूको बारेमा जानकारीसम्मको ठूलो मात्रामा डेटा जानकारी प्रदान गर्छन् । धेरै अवस्थामा प्रयोगकर्ताहरूले अञ्जानमा त्यस्तो जानकारी प्रकट गर्छन् जुन खतरनाक र अनुपयुक्त दुवै हुन सक्छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्तो उदीयमान प्रविधिहरूले मानिसको वैयक्तिक गोपनीयतामा खलल पार्ने कार्य भइरहेको छ । मानिसको दैनिक जीवनमा आवश्यक पर्ने शिक्षा, रोजगार, कार्यक्षेत्रको कार्य गर्न सहज बनाउन आविष्कार गरिएको एआई अहिले दुरुपयोगको माध्यम बनेको छ । केही कुराको छोटो र छिटो जानकारी दिन सक्ने एआईको प्रयोग गरी नक्कली सामग्री प्रचारप्रसार गर्दा एक मानिसको गोपनीयतामात्र नभई देशको सुरक्षा प्रणालीमा पनि खलल पर्ने कार्य दिनप्रतिदिन बढ्दो छ । डिजिटल क्षेत्रमा मानव अधिकारको प्रभावकारी रूपमा संरक्षण गर्न र कानुनी शासनका सिद्धान्तहरूलाई समर्थन गर्न नसक्दा लामो समयसम्म राष्ट्रिय र विश्वव्यापी सुरक्षा दुवैका प्रमुख तत्त्वहरूलाई उल्लेखनीय रूपमा कमजोर पारिएको छ ।
सामाजिक सञ्जालको गोपनीयता किन उच्च प्राथमिकतामा हुनुपर्छ ? पहिलो भनेको आफ्नो पहिचान सुरक्षा । सार्वजनिक रूपमा उपलब्ध विवरणहरू जस्तै हाम्रो पहिचान चोर्न वा अनलाइन हाम्रो नक्कल गर्न गलत नियत भएका व्यक्तिहरूले जन्मदिन, स्थान, वा कार्यस्थललाई एकसाथ मिलाउन सक्छन् । जसबाट उनीहरूले हाम्रो व्यक्तिगत डाटा प्रयोग गरी आर्थिक लाभ लिन सक्छ । दोस्रो भनेको घोटाला र फिसिङ हो साइबर अपराधीहरू प्रायः सामाजिक सञ्जालमा पाइने जानकारी प्रयोग गरेर घोटाला वा फिसिङ प्रयासहरू गर्छन्, जसले गर्दा आम नागरिकको आर्थिक र व्यक्तिगत डेटा जोखिममा पर्छ । तेस्रो रहेको छ । उत्पीडनविरुद्ध सुरक्षाका लागि गोपनीयता अत्यन्तै आवश्यक रहेको छ जति धेरै देखिने हाम्रा गतिविधि र जानकारीको बारेमा सञ्जालमा पोस्ट गर्दा हामीलाई अनावश्यक सम्पर्क, उत्पीडन वा पछ्याउने सम्भावना त्यति नै बढी हुन्छ ।
मौलिक हकका रूपमा हाम्रो संविधान तथा अन्य कानुनी प्रावधानले नै व्यवस्था गरिदिएको गोपनीयतालगायतका हकको सुनिश्चितता हुनुपर्छ । कोही पीडितहरूको गोपनीयता भंग गर्ने गरी मिडिया तथा सामाजिक सञ्जालमा सूचना तथा सामाग्रीहरू प्रस्तुत गर्न हुँदैन ताकी भोलि पनि पीडितहरूले निर्धक्कसँग समाजमा अरूले झैं बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ । गोपनीयताको अधिकार र यसको विकासको गहन विश्लेषण मानिसहरू सामाजिक प्राणीको रूपमा परिचित भए पनि, व्यक्तिको जीवनको एउटा पक्ष सधैं यस्तो हुन्छ जुन व्यक्तिले व्यक्तिगत राख्न चाहन्छ वा अरू कसैबाट साझा गर्न चाहँदैन । यस कुराको ख्याल सबैले गर्नुपर्छ ।
लाइक, फलोअर्स र अनलाइन प्रमाणीकरणको खोजीमा, हामीले बिस्तारै हाम्रो सबैभन्दा बहुमूल्य सम्पत्तिहरूमध्ये एक गोपनीयतालाई गुमाएका छौं । हाम्रो सार्वजनिक र निजी जीवनबीचको प्राकृतिक सीमा पहिले हामीले अनलाइनमा धेरैभन्दा धेरै कुराहरू साझा गर्दा धमिलो हुँदै गएको छ । पारिवारिक तस्बिरहरू पोस्टको गर्नेदेखि लिएर हाम्रो दैनिक दिनचर्याहरू साझा गर्नेसम्म, हामी स्वेच्छाले व्यक्तिगत क्षणहरूलाई डिजिटल दर्शक समक्ष उजागर गर्छौं जुन हाम्रो नियन्त्रणभन्दा धेरै टाढा फैलिएको छ । डिजिटल प्रविधिको युगमा, हाम्रो गोपनीयताको सुरक्षा गर्नु आवश्यकभन्दा अति आवश्यक रहेको छ । यदि हामीले त्यसो गरेनौं भने, हामीले हाम्रो व्यक्तिगत जानकारी व्यवस्थापन गर्ने स्वतन्त्रता र इन्टरनेटको आँखाबाट लुकेर वास्तविक जीवन बिताउने क्षमता दुवै गुमाउने खतरा हुन्छ ।
