

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । भदौ ३१मा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् असोज १ मा काठमाडौं फर्कने छ ।
‘ठूला एजेन्डाहरुमा यसपटक प्रवेश गर्ने सम्भावना कम छ, तर दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ केन्द्रित हुन्छौं,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘दुईपक्षीय सीमा व्यवस्थापन समूह (वोर्डर वर्किङ ग्रुप)को गृहसचिव स्तरीय बैठक त्यसअघि दिल्लीमा बस्छ । नेपालले तयारी सुरु गरिसक्यो ।’
आज आइतबार बीडब्लुजीको बैठक तयारीका लागि बैठक राखिएको छ । गत २०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा सौहार्द बन्न नसकेको ओली–मोदी एक्लाएक्लै भेटका क्रममा सम्भवतः नेपाल भारत सीमा, चुच्चे नक्सा आदि प्रसंग उठेको थियो, जसका कारण यसपल्ट ओलीको आसन्न दिल्ली भ्रमणको सुरुवातमै यो विषयले प्राथमिकता पाउने छ ।
नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा लिपलेखको नक्सा उल्लेख गरेको छ, जसप्रति भारत ओलीसँग असन्तुष्ट छ । ओली यसअघि प्रधानमन्त्री छँदा उनको अग्रसरतामा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएको थियो ।
यसअघि ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा भारतले स्वीकारेको थिएन । यसपल्ट भने आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने आश्वासन दिएको सरकारी पक्षले बताएको छ ।
तर मोदी काठमाडौं नआएर नेपालको कुनै धार्मिक पर्यटकीय वा व्यापारिक महत्वको ठाउँमा आउन सक्ने, प्रधानमन्त्री ओलीले मोदीलाई त्यहीँ स्वागत गर्ने सम्भावना रहेको बताइएको छ । स्रोतका अनुसार मोदीको उक्त भ्रमण पनि छोटो नै हुनेछ ।
