

एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक साधारणसभा आजदेखि सिंगापुरमा सुरु भएको छ । २० जुलाईसम्म हुने यो सम्मेलन नयाँ अध्यक्ष जय शाहको नेतृत्वमा हुनेछ र यसलाई पछिल्लो समयको सबैभन्दा महत्त्वपूर्ण सम्मेलन मानिएको छ । यस बैठकमा क्रिकेटका विभिन्न भविष्यगत योजनासम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुनेछ ।
बैठकमा उठ्ने मुख्य विषयमध्ये एक भनेको टेस्ट क्रिकेटलाई दुई–स्तरीय प्रणालीमा विभाजन गर्ने प्रस्ताव हो । यस योजनाअनुसार बलिया टोलीहरू जस्तै भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड शीर्ष समूहमा रहनेछन् भने कमजोर टोलीहरू दोस्रो समूहमा पर्नेछन् ।
यो प्रणाली तत्काल लागू नहुने र हालको विश्व टेस्ट च्याम्पियनसिप (२०२५–२७) मा कुनै असर नपर्ने जनाइएको छ । प्रस्ताव स्वीकृत भएमा यो नियम २०२७ पछि लागू हुनेछ ।
टी–२० क्रिकेटतर्फ, विश्वकपमा सहभागी टोलीको संख्या बढाउनेबारे छलफल हुनेछ । हाल प्रतियोगितामा २० टोली सहभागी हुने व्यवस्था छ, तर २०२६ पछि यो संख्या २४ सम्म बढ्न सक्ने सम्भावना रहेको छ । यसका साथै, २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेट समावेशबारे अन्तिम निर्णय र छनोट प्रक्रिया पनि बैठकको महत्वपूर्ण एजेन्डा हुनेछ ।
गत वर्ष अमेरिकामा भएको टी–२० विश्वकपमा देखिएको आर्थिक अनियमितताबारे अन्तिम प्रतिवेदन यस बैठकमा प्रस्तुत गरिनेछ । यो विवादकै कारण तत्कालीन आईसीसी प्रमुख कार्यकारी अधिकृत जियोफ अलार्डिसले जनवरीमा राजीनामा दिएका थिए। नयाँ सीईओ सञ्जोग गुप्ताले यस विषयमा अपडेट दिनेछन् ।
यसबाहेक, आईसीसीले जाम्बियालाई पुनः एसोसिएट सदस्यता दिने र इस्ट टिमोरलाई नयाँ सदस्यको रूपमा समावेश गर्ने सम्भावना छ । त्यस्तै, एसोसिएट सदस्यहरूको प्रतिनिधित्वसहितको कार्यकारी समितिका लागि निर्वाचन पनि सिंगापुरमै हुने अपेक्षा गरिएको छ ।
यो बैठक जय शाहको नेतृत्वमा पहिलो वार्षिक साधारणसभा हो । गत वर्ष डिसेम्बरमा आईसीसी अध्यक्षमा निर्वाचित भएका शाह यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिवका रूपमा कोलम्बोमा भएको बैठकमा सहभागी भएका थिए ।
