

काठमाडौं ।
नेटोले भारत, चीन र ब्राजिलमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको छ ।
नेटो महासचिव मार्क रुटले बुधबार भने, ‘यदि तपाईं चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईंले रूससँग व्यापार जारी राख्नुको ठूलो मूल्य चुकाउनु पर्छ भनेर बुझ्नुपर्छ ।’
रुटले बुधबार अमेरिकी सिनेटरहरूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै यी तीन देशहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिनुपर्ने बताए । यी तीन देशले दबाब दिए पुटिन शान्ति वार्तालाई गम्भीरतापूर्वक लिन तयार हुने रूटको अपेक्षा देखिन्थ्यो ।
रुटले यी देशहरूमा ‘द्वितीय प्रतिबन्ध’ लगाउने चेतावनी पनि दिएका छन् । उनले भने, ‘यदि यी देशहरूले रूसबाट तेल र ग्यास खरिद गर्न जारी राखे भने उनीहरूमाथि शतप्रतिशत सेकेन्डरी प्रतिबन्ध लगाइनेछ ।’
यो भनेको एउटा देशले अर्को देश वा संस्थामाथि लगाएको प्राथमिक प्रतिबन्धको पालना गराउन तेस्रो पक्षमाथि लगाइने प्रतिबन्ध हो । उदाहरणका लागि, अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ। यदि भारतको कुनै कम्पनीले इरानबाट तेल खरिद गर्छ भने अमेरिकाले भारतविरुद्ध पनि कुनै कदम चाल्न सक्छ ।
