

जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादववीच खानेपानीको समस्या संयुक्त रुपमा समाधानको प्रयास गर्ने सहमति भएको छ ।
आज जनकपुरधाममा भएको भेटवार्ताको क्रममा मुख्यमन्त्री सिंह र संघका खानेपानी मन्त्री यादवले यस्तो सहमति गरेका हुन् । प्रदेशमा विद्यमान खानेपानी समस्या समाधान गर्न संघ र प्रदेश सरकारले संयुक्त रूपमा अभियानकै रूपमा अगाडी बढने उनीहरु प्रतिबद्ध भएका छन् ।
संघ र प्रदेश सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि क्रियाशील गर्ने कार्य तत्कालै सुरु गर्ने मुख्यमन्त्री सिंहले बताएका छन् । उनका अनुसार संघ र प्रदेश सरकारले खानेपानीसंग सम्बन्धित शसर्त योजनाहरुलाई कार्यान्वयन गर्न तत्कालै कार्य अगाडी बढाइनेछ ।
यसवर्ष लामो समयदेखि वर्षा भएको छैन। मधेशका अधिकांश जिल्लामा खानेपानीको हाहाकार भएको छ। खानेपानी संकटका बेला जनताकै साथमा खडा भई दुवै तहका सरकारको अनुभूति गराउनेगरी काम अगाडी बढाउन सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिइएको छ ।
भेटका क्रममा मधेश प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित मन्त्रालयका विज्ञ र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
पर्याप्त वर्षा नभएकाले धान रोपाई समेत प्रभावित भएकाले मधेस सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । किसानलाई राहत प्याकेजका लागि संघ सरकार र दातृ निकायलाई मधेश सरकार गुहारेको छ ।
