

एजेन्सी ।
अस्ट्रेलियाविरुद्ध किंगस्टनमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजले लज्जास्पद प्रदर्शन ग¥यो ।
दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिज १७६ रनले पराजित भयो । जससँगै तीन खेलको सिरिज अस्ट्रेलियाले ३–० ले जित्यो । तेस्रो टेस्टको दोस्रो इनिङग्समा २७ रनमै अलआउट भएपछि वेस्ट इन्डिजको नाममा खराब कीर्तिमान ओइरो लाग्यो ।
२७ रनमा अलआउटः खेलको चौथो इनिङग्समा वेस्ट इन्डिजको पूरै टिम मात्र २७ रनमा समेटियो । यो टेस्ट क्रिकेटको इतिहासमा बनेको दोस्रो सबैभन्दा कम स्कोर हो । यसभन्दा कम स्कोर सन् १९५५ मा न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध बनाएको २६ रन मात्र हो । यो वेस्ट इन्डिजको पनि टेस्ट इतिहासकै सबैभन्दा कम स्कोर हो ।
दुवै इनिङ्समा गरी १७० रनः वेस्ट इन्डिजले दुवै इनिङ्समा गरी जम्मा १७० रन मात्र बनाउन सक्यो । यो पनि अर्को खराब रेकर्ड हो, जहाँ दुवै इनिङ्समा अलआउट हुँदा उनीहरूले बनाएको यो सबैभन्दा कम रन हो ।
१५ ओभर पनि टिकेनः वेस्ट इन्डिजको दोस्रो इनिङग्स मात्र १४.३ ओभर चल्यो । यो टेस्ट इतिहासमा कुनै पनि टिम अलआउट भएको तेस्रो सबैभन्दा छोटो इनिङग्स हो ।
७ जना खेलाडी शून्यमा आउट (डक)ः वेस्ट इन्डिजका ७ जना ब्याट्सम्यान खाता नखोली आउट भए । टेस्ट क्रिकेटको एकै इनिङ्समा यस्तो भएको यो पहिलो पटक हो ।
टप ६ ब्याट्सम्यानले बनाए जम्मा ६ रनः वेस्ट इन्डिजका सुरुवाती ६ जना ब्याट्सम्यानले मिलेर जम्मा ६ रन मात्र जोड्न सके । यो टेस्ट क्रिकेटको कुनै पनि टिमका लागि अहिलेसम्मकै सबैभन्दा कम हो ।
मिचेल स्टार्कको उत्कृष्ट बलिङ
१५ बलमा ५ विकेटः अस्ट्रेलियन बलर मिचेल स्टार्कले मात्र १५ बल फालेर ५ विकेट लिए । पुरुष टेस्ट क्रिकेटमा यति छिटो ५ विकेट लिने उनी पहिलो बलर बने ।
पहिलो ओभरमै ३ विकेटः स्टार्कले इनिङ्सको पहिलो ओभरमै ३ विकेट लिएर वेस्ट इन्डिजको ब्याटिङ लाइनअप ध्वस्त पारे । जसले गर्दा वेस्ट इन्डिजको स्कोर कुनै रन नबनाउँदै ३ विकेट (०÷३) हुन पुग्यो ।
४०० विकेटको कोसेढुंगाः यही खेलमा स्टार्कले आफ्नो ४००औं टेस्ट विकेट पनि पूरा गरे । उनी सबैभन्दा कम बलमा (१९०६२ बल) ४०० विकेट लिने विश्वकै दोस्रो बलर बने ।
१००औं टेस्टमा सर्वश्रेष्ठ प्रदर्शनः स्टार्कले ९ रन दिएर ६ विकेट लिए । कुनै पनि खेलाडीले आफ्नो १००औं टेस्टमा गरेको यो आजसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।
खेलका अन्य कीर्तिमानहरू
स्कट बोल्यान्डको ह्याट्रिकः खेलमा अस्ट्रेलियाका स्कट बोल्यान्डले ह्याट्रिक (लगातार ३ बलमा ३ विकेट) लिए । उनी अस्ट्रेलियाका लागि टेस्टमा ह्याट्रिक लिने १०औं बलर बने ।
बनेन अर्धशतकः पूरै खेलमा कुनै पनि ब्याट्सम्यानले ५० रनसमेत बनाउन सकेनन्। खेलको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर स्टिभ स्मिथको ४८ रन थियो ।
छोटो खेलः चारै इनिङ्समा जम्मा १०४५ बल मात्र फालियो। यो सन् १९१० पछिको सबैभन्दा छोटो टेस्ट म्याच हो जहाँ चारै इनिङग्स सकिए ।
