

जनकपुरधाम ।
मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट र रेडबुकप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दल जसपा नेपालसहित ६ दलले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।
सभामुख रामचन्द्र मण्डलले आज बिहान प्रदेशसभा शुरु गरे लगत्तै जसपा नेपालका प्रदेशसभा सदस्यहरु सदनमै उभिएर विरोध जनाएका थिए ।
जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले बजेटमा बिचौलिया हाबी भएको कुरा आएपछि त्रुटि सच्याउन कार्यदल गठन भएको तर रेडबुक नै संसदलाई छलेर ल्याइएको कुरा बाहिर आएकाले अब अर्थमन्त्री सुनिल यादवको राजीनामा दिनुपर्ने माग गरे ।
उनले अर्थमन्त्रीले राजीनामा नदिएसम्म प्रदेशसभामा नबस्ने बताए । उनको मन्तव्यपछि जसपा नेपालका प्रदेशसभा सदस्यहरुका साथै अन्य ५ दल माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समेत प्रदेशसभा बैठक बहिष्कार गर्दै बाहिरिएका छन् ।
सदनमा ३ अर्बको ८ हजार योजना लुकाइएको विपक्षी दलको आरोप
मधेस प्रदेशसभा बजेट र रेडबुकको विषयलाई लिएर गतिरोध चलिरहेको समयमा विपक्षी दलहरुले सदनमा ८ हजार बढी योजनाका विषयमा जानकारी नगराइएको आरोप लगाएका छन् । जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले पीएलआइएमएसमा ७ सय ५५ पृष्ठको बजेट किताब राखिएपनि सदनमा ४ सय ६१ पेजको मात्रै जानकारी गराइएको बताए । उनले २ सय ९४ पृष्ठमा रहेका ८ हजार बढी योजना निश्किृय नभएसम्म हामी सदनमा नबस्ने अडानमा छौँ बताए । यादवले बजेट सम्बन्धि विवाद मिलाउनकालागि बनाइएको १४ सदस्यीय कार्यदलले पनि यी योजनाहरु निश्क्रिय बनाउन तयार नभएपछि कार्यदलपनि बहिष्कार गरेको बताए ।
उनले सभामुख रामचन्द्र मण्डलले विपक्षी बिनै प्रदेशसभा संचालन गरेर लोकतन्त्रको मजाक बनाएको आरोप लगाए । उनले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए ।
