

काठमाडौं ।
जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्र यादवलाई अर्को ठगीको मुद्दा लागेको छ । यसअघि पार्टीको कार्यालय भवन खरिदका लागि जम्मा गरेको रकम ठगी गरेको आरोपमा मुद्दा खेपेका यादवमाथि पुनः अर्को मुद्दा परेको हो ।
यादवले ठगी गरेको भन्दै पार्टीबाहेकका व्यक्तिले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा यही असार २६ गते अदालतले यादवविरुद्ध एक लाख २५ हजार धरौटी माग गरेको छ । अदालतले मागेको धरौटी बुझाएर यादव २६ गते नै छुटेका छन् ।
यसअघि ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।
