

लण्डन ।
बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले चर्चित अन्तर्राष्ट्रिय लगानी बैंक गोल्डम्यान स्याक्समा जागिर शुरू गरेका छन् । उनले बैंकमा वरिष्ठ सल्लाहकारका रूपमा ‘पार्ट टाइम’ काम गर्ने भएका हुन् । बैंकका अनुसार सुनकले विश्व राजनीतिमा प्राप्त अनुभव, आर्थिक दृष्टिकोण र आफ्नो विशेष ज्ञानमार्फत् ग्राहकलाई सल्लाह दिनेछन् ।
साथै, उनी बैंकका विभिन्न देशका शाखाका कर्मचारीसँग भेटघाट गरी तालिम तथा अनुभव साटासाटमा पनि सहभागी हुनेछन् । गोल्डम्यान स्याक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेविड सोलोमनले भनेका छन्, ‘हामी ऋषि सुनकलाई पुनः फर्ममा स्वागत गर्न पाउँदा उत्साहित छौं ।’
सुनक सन् २००० मा इन्टर्नको रूपमा यो बैंकमा प्रवेश गरेका थिए र २००१ देखि २००४ सम्म विश्लेषक (एनालिस्ट)का रूपमा काम गरेका थिए । त्यसपछि उनले अन्तर्राष्ट्रिय लगानी कम्पनी स्थापना गरेका थिए ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुनक हालसम्म विभिन्न प्रतिष्ठित संस्थाहरूसँग आबद्ध भएका छन् ।
उनले अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको ब्लाभाट्निक स्कूल अफ गभर्नमेन्ट र अमेरिकाको स्टानफोर्ड विश्वविद्यालय अन्तर्गतको हुवर इन्स्टिच्युटमा अवैतनिक सल्लाहकारको भूमिका लिइसकेका छन् ।
त्यस्तै, उनले हालसम्म तीनवटा सार्वजनिक कार्यक्रमबाट ५ लाख युरोभन्दा बढी पारिश्रमिक आर्जन गरेका छन् ।
गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकारको वार्षिक तलब सामान्यतया १ लाख ३६ हजार डलरदेखि २ लाख २० हजार डलरसम्म हुने गर्छ ।
यद्यपि, सुनकजस्ता उच्च प्रोफाइल व्यक्तिहरूको पारिश्रमिक सार्वजनिक गरिने गरिएको छैन । त्यसैले उनको तलबबारे वास्तविकता बाहिर खुलाइएको छैन ।
सुनकले भने आफूले पाउने सम्पूर्ण तलब ‘द रिचमण्ड प्रोजेक्ट’ नामक च्यारिटी संस्थालाई दान गर्ने घोषणा गरेका छन् ।
यो संस्था उनले श्रीमती अक्षता मूर्तिसँगै सन् २०२४ मै स्थापना गरेका हुन् । यसले बेलायतभर अंकगणितीय सीप सुधार्न काम गर्छ ।
पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूले पद छाडेको दुई वर्षभित्र कुनै काम गर्नुपरे त्यसको अनुमति लिनुपर्ने हुन्छ । बेलायती निकाय ‘अड्भाइजरी कमिटी अन बिजनेस अपोइन्टमेन्ट्स’ले सुनकको जागिरमा केही जोखिम रहेको भन्दै सचेत गराएको छ ।
सुनकले प्रधानमन्त्री हुँदा थाहा पाएका गोप्य सूचनाबाट बैंकले अनुचित लाभ उठाउन सक्ने सम्भावना रहने भन्दै बेलायतको उक्त निकायले सचेत गराएको हो ।
उनी गोल्डम्यान स्याक्सका तर्फबाट सरकार वा अन्य कोषहरूलाई सल्लाह दिन सक्ने छैनन् । उनले, आफू प्रधानमन्त्री हुँदा जोडिएका ग्राहकलाई पनि कुनै सल्लाह दिन पाउनेछैनन् ।
त्यस्तै, उनले बेलायती सरकारसँग बैंकको पक्षमा कुनै प्रकारको लबिङ पनि गर्न पाउने छैनन् ।
प्रधानमन्त्रीबाट बाहिरिएपछि पूर्वनेताहरूले शिक्षा, परामर्श र सार्वजनिक वक्तृत्वमार्फत् संलग्नता बढाउँदै लैजानु बेलायतमा सामान्य अभ्यास मानिन्छ ।
ऋषि सुनकको यो नयाँ भूमिका पनि त्यही क्रमको हिस्सा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
