Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज अन्तिम दिन





काठमाडौं ।
चालु आर्थिक वर्षको बजेट निकासा गर्ने आज (असार २५ गते) अन्तिम दिन रहेको छ । बुधबार राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का हुने छन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाकी प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन् ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो । आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुने छन् ।
अघिल्ला वर्षमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्ने गरेकामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यविधिमा भएको बाध्यकारी व्यवस्थाका कारण यस वर्ष परिपत्र नगरिएको अर्यालले बताइन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।
विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि मलेनिकाको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा रहेको प्रवक्ता अर्यालले जानकारी दिइन् ।
चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्म सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारी छ । यो अवधिसम्ममा चालु शीर्षकतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।