

काठमाडौँ ।
गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको छ । युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।
नेपाल सरकारले भने २०७८/७९ को नीति तथा कार्यक्रममार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय उल्लेख गरेको थियो ।
विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम समेत गरिएको थियो ।
अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विधिवत रूपमा प्रक्रिया अघि बढेको हो ।
यसको लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ ) फ्रान्स पुगेका छन् ।
डा. लामा प्राचीन कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकको पूर्वतयारीको लागि गत शुक्रबार नै फ्रान्स पुगेका हुन् । त्यस्तै बैठकमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राई लगायत कार्यक्रममा सहभागी हुन सोमबार (२३ असारमा) फ्रान्स प्रस्थान गरेका छन् ।
बैठकको पूर्वतयारीको लागि उपाध्यक्ष लामाले एक हप्तादेखि फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराई, फ्रान्सको लागि भारतीय राजदूत विशाल शर्मा, युनेस्कोको वल्र्ड हेरिटेज साउथ एसियाका प्रमुख हिमालचुली गुरुङ, आइकोमोसका अध्यक्ष टेरेसा प्याट्रिसियो तथा निर्देशक ग्वेनाले बोर्डिनसहित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा विभिन्न संस्थाका प्रमुखहरूसँग आवश्यक सहकार्यको लागि भेटवार्ता तथा छलफल गरेको लामाका स्वकीय सचिव श्याम रोक्काले जानकारी दिए ।
२०१४ सालदेखि तिलौराकोटको उत्खनन् तथा अन्वेषण भइरहेको छ । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा ३०० वर्षअघि नै व्यवस्थित शहर रहेको तथ्य भेटिएको उत्खनन्मा सहभागी पुरातत्वविद् बताउँछन् । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर त्यसअघि नै तिलौराकोटमा मानव सभ्यता र शहर रहेको पुष्टि भएको पुरातत्वविद्को भनाइ छ ।
यसअघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन पेस भइसकेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले बताए ।
