Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चिकित्सक-सरकार सहमति, आजदेखि देशभरिका अस्पताल खुल्यो





काठमाडौँ ।

आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार साँझ भएको वार्तामा आन्दोलनरत नेपाल चिकित्सक संघका माग अध्ययन गरेर सुझाव दिन तीन सदस्यीय कार्यदल गठन गर्नेलगायत तीनबुँदे सहमति भएको हो । सहमती पछि आजदेखि देशभरिका अस्पताल खुलेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख संयोजक रहने कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट सहसचिवस्तरका १/१ प्रतिनिधि रहनेछन् । कार्यदलले कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा सात दिनभित्र सुझावसहितको प्रतिवेदन वार्ता टोलीसमक्ष पेस गर्नेछ ।

वार्ता टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघलगायतका सरोकारवाला पक्ष छन् ।

‘कार्यदलबाट चिकित्सा क्षेत्रको प्राविधिक विषय र विभिन्न ऐन संशोधनका विषयमा ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस हुनेछ,’ चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले भने, ‘त्यसपछि हामी फेरि वार्तामा बस्छौं । हामीलाई चित्तबुझे ११ दिनभित्र मन्त्रिपरिषद्बाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्ट ट्र्याकबाट कानुन संशोधनका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।’

डा. कार्कीका अनुसार कार्यदलले मुख्य गरी उपभोक्ता संरक्षण ऐन २०७५ लगायतका विद्यमान कानुनी तथा नीतिगत व्यवस्थामा आवश्यक संशोधनका लागि सुझाव दिनेछ । सहमतिपत्रमा चिकित्सक संघलगायतका सरोकारवाला संघसंस्थाले सबै किसिमका आन्दोलन स्थगन गरी नियमित सेवा सञ्चालन गर्नेसमेत उल्लेख छ ।

उपभोक्ता संरक्षण ऐनमा टेकेर गठन भएको अदालतले चिकित्सकलाई बिनाठोस आधार दण्डित गरेको उल्लेख गर्दै चिकित्सकहरूले उपभोक्ता संरक्षण ऐन संशोधन हुनुपर्ने र मेडिकल काउन्सिलले नै उपचारसम्बन्धी विवाद निरूपण गर्नुपर्ने माग राख्दै आएका छन् ।

पभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भने बन्द हडतालबाट तयार भएको कागज आधिकारिक नहुने बताउँछन् । ‘जोसँग बल छ, नियम कानुन ऊसँग हुने भन्ने हुँदैन,’ उनले भने, ‘सरकारले मौलिक हकलाई असर पुग्ने कानुन बनाउनै सक्दैन । त्यस्तो भयो भने पनि अदालत छ ।’

उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरक मुद्दामा अस्पताल र चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको थियो । त्यसपछि संघको आह्वानमा चरणबद्ध आन्दोलन भएको थियो । सोमबार र मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारिएको थियो ।

आन्दोलनले बिरामीलाई सास्ती

उपभोक्ता अदालतको फैसलाविरुद्ध भएको चिकित्सकको आन्दोलनका कारण मंगलबार दोस्रो दिन पनि बिरामीहरू मर्कामा परेका छन् । आकस्मिकबाहेकका सेवा बन्द भएपछि देशका विभिन्न स्थानबाट जँचाउन आएका बिरामी अलपत्र परेका छन् ।

जनकपुर घर भएकी रामकुमारी हातमा रातो झोलामा अस्पतालका एक्सरे, औषधि साथै पहिले जाँच गरेका कागजात बोकेर छटपटिँदै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको गेटसामु यताउता गरिरहेकी थिइन् । श्रीमान् शिवशंकर पनि सँगै थिए । मुटुमा प्वाल परेका कारण केही वर्षअघि यही अस्पतालमा रामकुमारीको शल्यक्रिया भएको थियो । त्यसैको फलोअपका लागि श्रीमान्लाई साथमा लिएर उनी शनिबार काठमाडौं आइपुगेकी हुन् ।

‘आइतबार जाँच गरी सोमबार डाक्टरलाई रिपोर्ट देखाएर घर फर्कने सोचमा थिएँ । तर डाक्टरहरूकै बन्दका कारण आफू काठमाडौंमा अल्झिएँ,’ उनले भनिन्, ‘हामीलाई के थाहा यस्तो हुन्छ भन्ने, अस्पताल आएको बन्द छ भने, अब कहिले पो खुल्छ ? बल्लतल्ल समय मिलाएर आएको दुःख धेरै हुने भयो ।’

त्यस्तै नवलपुरबाट आएकी ४७ वर्षीया पार्वती देवीको पनि मंगलबार डाक्टरलाई देखाएर साँझै घर फर्कने योजना थियो । तर, ओपीडी बन्द हुँदा पार्वतीको काठमाडौं बसाइ लम्बिने भएको छ । ‘अस्पताल बन्द भन्ने थाहा भएन, नत्र हामी काठमाडौं आउने थिएनौं । जाँच गरेर फर्किहाल्ने सोचमा थियौं । पैसा पनि छैन, होटलमा बस्न, खान निकै गाह्रो भयो,’ उनी भन्छिन्, ‘हामीले बिहान डाक्टरलाई भेटेर समस्या बतायौं तर अहिलेसम्म केही हल निस्किएन, हामी दोधारमा छौं ।’

सास फेर्न गाह्रो भएपछि गमहीरा पासवान वीरगन्जको एक अस्पतालमा पुगे । डाक्टरले मुटुमा समस्या भएको भन्दै काठमाडौं जान सल्लाह दिएपछि उनी शनिबार काठमाडौं आइपुगेका हुन् । रगत, इकोलगायतका परीक्षण सकेका उनी पनि डाक्टरको प्रतीक्षामा छन् । पासवान भन्छन्, ‘डाक्टरलाई कुर्दा दुई दिन बिते । अझै एक दिन बन्द भए हामी बिजोगमा परिहाल्छौं । जुनै डाक्टरले भए पनि रिपोर्ट हेरिदिए त हामी घर गइहाल्थ्यौं, डाक्टरको प्रतीक्षामै समय बित्यो ।’

ललिता सुहेल पनि आफूलाई अचानक सास फेर्न गाह्रो र मुटु दुख्ने भएपछि हेटौंडाबाट श्रीमान् र सानो छोरासँग गंगालालमा जँचाउन आइन् । शनिबार हेटौंडाबाट आएकी उनी २ दिन होटल बसेको र अस्पतालको सेवा बन्द भएको थाहा पाएपछि पैसा नपुगेर आफन्तकहाँ पुगेको बताउँछिन् । ‘दुई दिनमा जाँच गरेर फर्कने सोच बनाएर आएका थियौं । अस्पताल बन्द भएर पैसा नपुग्ने भएपछि आफन्तकामा बस्न पुग्यौं,’ सुहेल भन्छिन्, ‘हातमा रिपोर्ट छ, रिपोर्ट हेरिदिने डाक्टर अस्पतालमा छैनन् ।’

शिक्षकहरूको हडतालले ओपीडी सेवा बन्द हुँदा राजधानीका अन्य अस्पतालमा उपचारका लागि पुगेका बिरामीले पनि सास्ती व्यहोर्नुपरेको छ । तनहुँका ८२ वर्षीय रामबहादुर सुनार पनि आफ्नो नियमित जाँचका लागि मंगलबार बिहानै महाराजगन्जस्थित शिक्षण अस्पताल पुगे । तर, जँचाउन पाएनन् । चिकित्सकहरूको हडतालका कारण ओपीडी बन्द हुँदा आफूजस्ता टाढाका बिरामीलाई ठूलो समस्या परेको उनी सुनाउँछन् । ‘टाढाको बाटो बल्लबल्ल आइयो तर अस्पताल बन्द छ,’ उनले भने, ‘यस्ता बन्दले हामी जस्ता सामान्य मान्छेलाई निकै गाह्रो हुन्छ ।’

मंगलबार बिहान शिक्षण अस्पताल परिसरमा भेटिएका रामेछापका खितबहादुर पाण्डेको अनुहार मलिन देखिन्थ्यो । उनी बैसाखीको सहारामा उभिएका थिए । पाण्डेको केही महिनाअघि दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो । शिक्षण अस्पतालमै उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । त्यसैको फलोअपका लागि उनी काठमाडौं आएका हुन् । प्लास्टर निकाल्ने र अन्य रिपोर्ट देखाउनका लागि उनी अस्पताल आएका थिए । सेवा नै बन्द हुँदा आफूलाई निकै गाह्रो भएको उनको गुनासो छ । उनी भन्छन्, ‘हिँड्न मिल्दैन । रिपोर्ट देखाउन पाए त आनन्द हुन्थ्यो । यस्तो खुट्टा लिएर ओहोरदोहोर गर्न गाह्रो छ ।’

त्यस्तै, कैलालीकी ४० वर्षीया विनितादेवी चौधरी ब्लड क्यान्सर भएर पाटन अस्पतालमा ५ वर्षदेखि जचाउँदै आएकी छन् । क्यान्सरका कारण उनलाई नियमित औषधि सेवन गर्नुपर्छ । नत्र खाना नरुच्ने, हातखुट्टा गल्ने, रिंगटा र वाकवाक लाग्ने समस्या हुन्छ । उनी अस्पतालमा प्रत्येक तीन महिनामा फलोअपमा आउने गरेकी छन् । चिकित्सकको आन्दोलनका कारण सोमबारदेखि अस्पतालका ओपीडी सेवा बन्द भएपछि उनी मंगलबार त्यसै फर्किनुपरेको हो ।

ब्लड क्यान्सर भएर उपचार गराउनकै लागि श्रीमान्–श्रीमती राजधानी बसाइँ सरेका चौधरी दम्पतीले चिकित्सकको आन्दोलनका कारण सोमबार र मंगलबार सास्ती भोग्नुपरेको छ । निराश भएर विनिता भन्छिन्, ‘औषधि सबै सकिइसकेको छ, निजी अस्पतालमा उपचार गराउन जान पनि निकै महँगो छ । हामीलाई त यो आन्दोलनले दुःख मात्रै भयो ।’

ललितपुर पाटन ढोकाकी सिर्जना राजोपाध्याय गर्भवती भएको ९ महिना पुग्यो । चिकित्सकले ‘डेलिभरी’ मिति साउन १२ लाई दिएका छन् । उनी मधुमेहकी पीडित हुन् । उच्च मधुमेहका कारण सोमबार जचाउन पाटन अस्पताल पुगेकी थिइन् । अस्पताल बन्द भएपछि मंगलबार पनि पुगिन्, तर जचाउनै नपाई फर्कन बाध्य भइन् । ‘भर्ना हुन फारम लिएँ, तर स्वास्थ्य बिमा गरेको नम्बर अस्पतालमा इन्ट्री गर्न ओपीडी खुल्नुपर्छ भनेपछि त्यसै फर्कें,’ उच्च मधुमेहका कारण गर्भको शिशुसमेत खतरामा पर्न सक्ने डरले भर्ना हुन आएकी सिर्जना निराश भएर घर फर्किइन् ।

भक्तपुर सानोथिमिकी ७० वर्षीया केशरीमाया अवाले मंगलबार दिसा जम्मा हुने थैली फेर्न पाटन अस्पताल पुगेकी थिइन् । चार महिनाअघि आन्द्राको शल्यक्रिया गराएकी उनको पेटमा प्वाल पारेर आन्द्रा बाहिर ल्याई थैलीमा दिसा जम्मा हुने बनाएको छ । उनको थैली नफेरेको चार साता भइसकेको छ । अहिले थैलीबाट दिसा चुहिने, थैली टाँसेको टेप उप्किने समस्या भएर मंगलबार उपचार गराउन अस्पताल पुगेकी थिइन् । बाथ रोगले पीडित उनी भन्छिन्, ‘शल्यक्रिया गर्ने डाक्टर आइतबार र मंगलबार मात्र भेट हुन्छन् । जसोतसो गरेर अस्पताल आउँदा बन्द छ, हामीलाई धेरै सास्ती भयो ।’

मुलुकभरका अस्पतालमा चिकित्सकले गरेको हडतालका कारण दुःख पाउने यी प्रतिनिधि बिरामीहरू हुन् । धनकुटाबाट छोरीलाई अमेरिकामा पढाउन पठाउनका लागि जन्मिँदा बीसीजी, डीपीटी र दादुराको खोप लगाएको रेकर्ड लिन पाटन अस्पताल आएका सूर्य थापा पनि मर्कामा परे ।

उनले समयमा कागजात अमेरिका पठाउन नसकेमा ढिला हुनेप्रति चिन्ता व्यक्त गरे । नसा च्यापिएपछि गत शुक्रबार गरेको भिडियो एक्सरेको रिपोर्ट लिन र फलोअपका लागि आएकी लुभुकी राममाया थापा, चित्लाङ टिस्टुङ पालुङबाट थाइराइडको चेकअप गराउन आएका ७२ वर्षीय रामलाल महर्जनलगायत बिरामीले अस्पताल बन्दका कारण मर्कामा परेको दुखेसो पोखे ।