

जनकपुरधाम ।
आगामी आर्थिक वर्षको बजेटलाई लिएर मधेस सभाको बैठकमा किचलो जारी छ ।
विपक्षी दलहरूले बजेटमा प्रश्न उठाउन थालेपछि सदनको बैठक लगातार तेस्रो दिन पनि अवरुद्ध भएको छ ।
विपक्षी दलको अवरोधपछि प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
बजेटमा बिचौलिया हाबी भएको विपक्षी दलहरूको आरोप छ ।
आगामी आर्थिक वर्ष ०८२/०८३का लागि प्रदेश सरकारले बजेट ल्याएको २४ दिन भइसक्दा पनि प्रदेश सभाभित्रको किचलो बढ्दो छ । यस्तै अवस्था रहे असार ३० भित्र बजेट पास हुन सक्ने सम्भावना निकै कम छ ।
असार १ गते प्रदेश सरकारले ४६ अर्ब बढीको बजेट ल्याएको थियो । त्यसको ११ दिन पछाडि सुरु भएको सदनको बैठकमा रातो किताब प्रदेश सांसदहरूले पाएका थिए ।
रातो किताबको अध्ययनपछि बजेटमा भने गडबड भएको देखेका सत्तारुढ दलका सांसदसहित विपक्षी दलहरूले बजेट विरोध गर्न थालेका थिए । सदनमा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एस, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त रूपमा विरोध जनाइरहेका छन् । बजेट पासका लागि अब प्रदेश सभासँग मात्र एक साता बाँकी छ ।
बजेटको विषयलाई लिएर विवाद सुरु भएपछि प्रदेश मन्त्रिपरिषद्को बैठक डाकिएको थियो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकबारे गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले भने, ‘बैठकमा बजेटमाथि भइरहेको विरोधबारे छलफल गरियो । तर गहन छलफल भने भएन, सत्तारुढ दलहरूसंग सल्लाह गरेर अगाडि बढ्ने सबैको सल्लाह भयो ।’
उनका अनुसार अब सदनमा भइरहेको विरोधबारे सत्तारुढ दलहरूसँग सल्लाह गरेर अगाडि बढ्ने सरकारको तयारी छ ।
