

जनकपुरधाम ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्ष भएको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज लिगमा अनियमितता भएको भन्दै सरकारले छानबिन गरिरहेको भए पनि क्यानले दोस्रो संस्करणको तयारी अगाडि बढाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले गत जेठ ११ गते राष्ट्रिय खेलकुद परिषद्की सदस्य रञ्जना प्रधानको संयोजकत्वमा एनपीएलमा भएको गडबडी छानबिनका लागि कार्यदल गठन गरेको थियो । अहिले यो कार्यदलले क्यानसँग पटकपटक एनपीएलसम्बन्धी कागजात मागेर अध्ययन गरिरहेको छ । कार्यदलले आइतबार मात्र क्यानलाई फेरि पत्र पठाउँदै छानबिन नसकिँदासम्म एनपीएलको दोस्रो संस्करणको तयारी नगर्न भनेको छ ।
कार्यदलले यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन भइरहेको भन्दै सो छानबिन नसकिँदासम्म दोस्रो संस्करणको काम अगाडि नबढाउन निर्देशन दिएको हो । कार्यदलकी संयोजक रञ्जना प्रधानले क्यानलाई पत्र पठाएर केही प्रश्न सोधिएको बताइन् । उनले भनिन्, ‘एक दुईवटा प्रश्न गरेर हामीले आइतबार क्यानलाई पत्र पठाएका छौँ । त्यहाँबाट पत्र प्राप्त भएपछि हाम्रो छानबिन निष्कर्षतर्फ अगाडि पुग्छ ।’
कार्यदलले क्यान अध्यक्ष चतुरबहादुर चन्दका नाममा पठाएको पत्रमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेस गरी यस कार्यदलले प्रतिवेदन पेस गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिगसम्बन्धी कुनै कार्य नगर्नू÷नगराउनू हुनसमेत जानकारी गराइन्छ ।’
कार्यदलले यसअघि क्यानले झारा टार्ने गरी मात्र पत्रको जवाफ दिएको भन्दै यसपटक स्पष्ट जवाफ दिनसमेत भनेको छ । तर, क्यानका प्रवक्ता छृुम्बी लामा भने कार्यदलमा यसअघि पनि आवश्यक सबै कागजात पठाइएको दाबी गर्छन् । उनले भने, ‘यसअघि पनि हामीले सबै कागजात पठाएकै हो । फेरि पत्र आएको सुनेको छ । पत्रअनुसार कागजात फेरि पठाउँछौँ ।’
एनपीएल आयोजनाका क्रममा स्वदेशी प्रसारणकर्ता कम्पनीहरूलाई प्रतिस्पर्धामा आउन नसक्ने गरी मापदण्ड बनाइएको भन्दै अख्तियारमा उजुरी परेको छ । क्यानले भने सबै प्रक्रिया पूरा गरी स्टार नेटवर्कलाई डिजिटल लाइट्स दिइएको बताएको छ । क्यानका प्रवक्ता लामाले स्टार नेटवर्कबाट एनपीएल प्रशारण् भएकै कारण विश्वभर चर्चा भएको बताए । उनले क्यानले सबै कुरा पारदर्शी गरेको समेत बताए । तर, क्यानले एनपीएलमा कति खर्च भयो र कति आम्दानी भयो भन्ने विषयमा भने सार्वजनिक जानकारी हालसम्म दिएको छैन ।
कार्यदलको पत्रकै आधारमा अहिले क्यानले दोस्रो संस्करणको तयारी भने रोकेको छैन । अहिले फ्रेन्चाइज टिमले आफ्नो काम गरिरहेको उल्लेख गर्दै क्यानले पनि आवश्यक तयारीहरू गरिरहेको बताए । फ्रेन्चाइज आठवटै टिमले अहिले खेलाडी रिटेन तथा रिलिजको काम गरिसकेका छन् । क्यान मिनि अक्सनको तयारीमा जुटिसकेको छ । त्यसका लागि अब खेलाडी दर्ता प्रक्रिया सुरु हुनेछ । प्रवक्ता लामाले नियमित समयमै आगामी मंसिर÷पुसमा हुने बताए ।
