

जनकपुरधाम ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह पक्राउ परेका छन् । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर किर्ते गरी कर्मचारीलाई बर्खास्त गरेको अभियोगमा अध्यक्ष साह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले अध्यक्ष साह आज पक्राउ परेको पुष्टि गरेका छन् । उनले अध्यक्ष साहलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा उपस्थित गराएपछि ३ दिनको म्याद थप भएको जानकारी दिए ।
आफ्नो हस्ताक्षर किर्ते गरी चार जना कर्मचारीलाई बर्खास्त गरेको भन्दै परिषद्कै कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले किर्ते गरिएको भनिएका हस्ताक्षर विधि विज्ञान प्रयोगशाला पठाएर परीक्षण गराएको छ ।
स्रोतका अनुसार हस्ताक्षर किर्ते गरिएको पुष्टि भएको छ । हस्ताक्षर किर्ते ठहर भएपछि प्रहरीले अध्यक्ष साहविरुद्ध अदालतबाट पक्राउ गर्न अनुमति मागेको थियो । अदालतले गत वैशाख २५ मा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि सम्पर्कविहीन बनेका अध्यक्ष दुई महिनापछि प्रहरीको फन्दामा परेका छन् ।
अध्यक्ष साहले किर्ते हस्ताक्षरको भरमा परिषद्का प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी तथा नासुद्वय मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए ।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष साह नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको कोटाबाट परिषद्को अध्यक्ष नियुक्त भएका थिए ।
