

सुजीतकुमार झा
जनकपुरधाम ।
हरिशयनी एकादशीको अवसरमा पर्यावरण अभियानी सुरेश शर्माले आइतवार तुलसीको विरुवा वितरण गरेका छन् । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा तुलसीको विरुवा लिएर पुगेका शर्माले जसलाई तुलसी आवश्यक छ त्यसको लागि दिन आएको बताइरहेका थिए । आवश्यकता भएकाहरु उहाँले राखेको स्थानबाट तुलसीको विरुवा लिइरहेका थिए ।
वृक्षमानवको रुपमा चर्चित रहेका शर्माले प्रत्येक वर्ष हरिशयनी एकादशीको दिन यसप्रकारको तुलसीको विरुवा वितरण गर्नुहुन्छ । ‘अरु महिनाको एकादशी र पूर्णिमा तिथिको दिन जनकपुरधाममा रहँदा पनि तुलसी वितरण गर्ने प्रयास गर्छु, तर हरिशायनीमा मेरो केही घण्टा यसैमा बित्ने गरेको छ,’ उहाँले बताउनुभयो ।
तुलसी प्राकृतिक, पवित्र तथा बास्नादार वनस्पति हो । हिन्दु धर्मावलम्बीहरूको घरको आँगनमा सानो मन्दिर (चौडा) बनाई तुलसी रोपिन्छ । वास्तवमा तुलसी भारतीय खण्डमा उत्पत्ति भएको मानिन्छ तर दक्षिण–पूर्व एसियाका प्रायः मुलुकहरूमा धार्मिक एवं परम्परागत रूपमा तुलसीको खेती गरी अर्चना गरिन्छ । तुलसीलाई विष्णुको अवतारका रूपमा लिइन्छ भने लक्ष्मीको प्रतिमूर्तिका रूपमा मानिन्छ । त्यसकारण तुलसीलाई सफा मन्दिर बनाई रोपेर पूजा गरिन्छ । तुलसी रोप्ने स्थान (सानो स्थल)लाई ‘चौडा’ वा ‘मठ’ पनि भनिन्छ । भगवान् हरि असार शुक्ल पक्षको एकादशीका दिनदेखि शयन गर्ने हुँदा सोही दिनको शुभसाइतमा तुलसी रोपिन्छ भने कात्तिक शुक्ल पक्ष एकादशीका दिन भगवान् विष्णुसँग तुलसीको विवाह गरिन्छ ।
तुलसीको महत्व बुझेर नै आफूले यो अभियान चलाएको शर्माले बताउनुभयो । तुलसी आयुर्वेदिक औषधियुक्त प्रतिजैविक जडीबुटी हो । यसको जरादेखि काण्ड, पात, फूलका साथै बीउसमेतले विभिन्न स्वास्थ्य समस्यामा फाइदा पु–याउँछ । तुलसीका पातलाई मह तथा अदुवामा मिसाएर सेवन गरेमा रुघाखोकी, श्वासप्रश्वास लगायत फोक्सोको सङ्क्रमणमा अत्यन्त फाइदा हुन्छ । तुलसीका पात चियामा राखेर खाएमा पनि फाइदा हुन्छ । कढा पनि स्वास्थ्यका लागि प्रभावकारी हुने गरेको छ । तुलसीका हरेक भागले पखाला, आउँ–रगत, औँलो ज्वरो, बाथ, चर्मरोग, आँखाको सङ्क्रमण, कीटजन्य रोगमा औषधिको काम गर्छन् । तुलसीमा रोगसँग लड्नसक्ने क्षमता हुनेहुँदा मुखमा देखिन सक्ने सङ्क्रमण, दुर्गन्ध, गिँजामा सङ्क्रमण, पाचन प्रणाली, खानाको रुचिमा वृद्धि, कलेजोको समस्या, पाचनक्रियामा आवश्यक रस उत्पादन, दमको समस्या, मुटुरोग, रगतमा चिनीको समस्या, क्यान्सर, चिन्ता तथा मनोरोगमा समेत लाभदायक छन् । तुलसी भिटामीन ए, सी, के तथा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, प्रोटिन, फलाम, पोटासियम तथा फाइबर (रेशा) प्रशस्त पाइने अत्यन्त फाइदाजनक वनस्पति हो । काँचको खाली ग्लासमा तुलसीका पाँचवटा पात राखेर पानी भरी राखेर सुत्ने कोठामा राख्ने र भोलिपल्ट बिहान पानी पिउनुका साथै पात चपाउँदा शारीरिक एवं मानसिक फाइदासमेत हुन्छ । तुलसीले हाम्रो शरीरलाई रसायन, विषाक्त, धातुबाट उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यामा निकै फाइदा हुन्छ । यो वनस्पति दीर्घ शारीरिक तथा मानसिक थकानमा पनि अत्यन्त उपयोगी हुन्छ । तुलसीका डाँठ पनि दियो बाल्न उपयुक्त हुन्छ ।
शर्मा वृक्षारोपण अभियानसँग पनि जुडेका छन् । प्रत्येक हप्ता उहाँको यो अभियान चलिरहन्छ । ‘वृक्ष–रोपण गरेनो भने कुनै कार्यमा मनै लाग्दैन त्यसकारण म प्रायः कुनै न कुनै ठाउँमा वृक्षारोपण गरिरहन्छु,’ उहाँले बताउनुभयो । केही वर्ष भित्रै लाख भन्दा बढी रुख विरुवा उहाँको नेतृत्वमा वृक्षारोपण गरिएको छ । वर, पिपल, निम, तुलसीको वृक्षारोपणमा उहाँ आजभोलि विशेष जोड दिनु भएको छ ।
नेपालमा मात्रै नभइ भारतको दर्जनो तीर्थस्थलमा गएर पनि शर्माले यस्ता देववृक्षहरु वृक्षारोपण गर्नुभएको छ । वृक्षारोपण कार्य सम्बन्धि उहाँको जनचेतना कार्यक्रम पनि चलिरहेको हुन्छ ।

मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्दछ ।
शर्मा भन्नुहुन्छ – मानव जीवनलाई हितकारी बनाउने वृक्षारोपणको कार्य गर्न सम्पूर्ण सरोकारवालाहरु एक जुट हुनुपर्दछ । टोल टोलका खाली क्षेत्र, सडक किनारा, पानीका मुहान लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरी पुण्य कमाउने कार्य गर्नुपर्दछ । अहिले हामीले गरेको वृक्षारोपणको कार्यले हाम्रो वातावरणलाई सफा स्वच्छ निर्मल राख्नुका साथै भावी पिडीका लागी सम्पत्ति बन्दछ । ‘सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरुका लागि आ–आफ्नो समुदायमा वृक्षारोपणको व्यापक अभियान चलाउँ,’ उहाँले अगाडी बताउनुभयो ।
मधेश प्रदेश सरकारमा उपसचिव रहेका शर्मालाई वृक्षारोपण अभियानका कारण विभिन्न सरकारी एवं गैरसरकारी निकायले सम्मान गरिसकेको छ ।
