

एजेन्सी ।
भारतमा सन् २०११/१२ देखि २०२२/२३ को अवधिमा आय असमानता उल्लेख्य रूपमा घटेको छ । विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार भारत विश्वकै चौथो सबैभन्दा ‘समान’ मुलुक बनेको छ ।
यस उपलब्धिलाई भारतको चरम गरिबीमा आएको तीव्र गिरावटसँग जोडिएको छ । भारत सरकारले एक विज्ञप्ति जारी गर्दै सन् २०११÷१२ मा १६ दशमलव २ प्रतिशत रहेको चरम गरिबी सन् २०२२/२३ मा घटेर केवल २ दशमलव ३ प्रतिशतमा आएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा विश्व बैंकका तथ्यांक उल्लेख गरिएको छ । आय वा खपतको वितरणमा रहेको असमानता पत्ता लगाउन प्रयोग हुने जिनी इन्डेक्स अनुसार भारतको स्कोर २५ दशमलव ५ रहेको छ ।
यो स्कोरले भारतलाई आय समानतामा स्लोभाक रिपब्लिक, स्लोभेनिया र बेलारुसपछि चौथो स्थानमा राखेको छ ।
जिनी इन्डेक्स ० देखि १०० सम्मको सूचक हो, जसमा ० को अर्थ सबैभन्दा समान र १०० को अर्थ सबैभन्दा धेरै असमानता हो ।
भारतको इन्डेक्स २५ दशमलव ५ छ भने, चीनको ३५ दशमलव ७ र अमेरिकाको ४१ दशमलव ८ छ । दुवै देशको तुलनामा भारत आय समानतामा अगाडि देखिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको १६७ मुलुकको सूचीमा भारत ‘मोडरेट्ली लो’ अर्थात् ‘मध्यम रूपमा कम असमानता’ भएको श्रेणीमा परेको छ । उक्त श्रेणीको जिनी स्कोर २५ देखि ३० सम्म हुन्छ ।
यो श्रेणीमा युरोपका सामाजिक सुरक्षामा बलिया मानिएका देशहरू आइसल्यान्ड, नर्वे, फिनल्यान्ड, बेल्जियमसहित पोल्यान्ड र यूएईजस्ता आर्थिक रूपले समृद्ध मुलुक पनि छन् ।
विश्व बैंकका अनुसार विगत एक दशकमा १७ करोड भारतीय नागरिक चरम गरिबीको रेखामुनिबाट माथि उठेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतिदिन २ दशमलव १५ अमेरिकी डलरभन्दा कम आम्दानी गर्ने व्यक्तिलाई चरम गरिब मानिन्छ ।
२०११/१२ मा १६ दशमलव २ प्रतिशत भारतीयहरू यस्तो अवस्थामा थिए भने २०२२/२३ सम्म यो संख्या घटेर केवल २ दशमलव ३ प्रतिशतमा झरेको छ ।
सरकारले आय समानता र गरिबी निवारणको सफलताका पछाडि विगत दशकमा सञ्चालन गरिएका योजनाहरूलाई श्रेय दिएको छ ।
प्रधानमन्त्री जन–धन योजना, डाइरेक्ट बेनेफिट ट्रान्सफर, स्ट्यान्ड–अप इन्डिया, आयुष्मान भारत, प्रधानमन्त्री विश्वकर्मा योजना जस्ता कार्यक्रमले समाजमा पिछडिएका वर्गसम्म सेवा पु¥याउन र उनीहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन सघाएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आर्थिक सुधार र सामाजिक सुरक्षा दुवैलाई सँगसँगै अघि बढाउन सक्ने भारतको क्षमता नै यस सफलताको कारक रहेको दाबी गरेको छ ।
‘भारतको जिनी इन्डेक्स २५ दशमलव ५ केवल एउटा संख्या होइन, यो जनताको जीवनमा आएको वास्तविक परिवर्तनको संकेत हो । अझ धेरै परिवारले खाद्यान्न, बैंकिङ, स्वास्थ्य र रोजगारीमा पहुँच पाएका छन्’, विज्ञप्तिमा भनिएको छ ।
