

एजेन्सी ।
रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ ।
बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन् । बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो ।
मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी सम्मान र रचनात्मक साझेदारीको नयाँ अध्याय’ भएको बताए । साथै, उनले यो परिवर्तन अरू मुलुकहरूका लागि ‘उदाहरणीय बन्ने’ दाबी पनि गरे ।
सन् २०२१ को अगस्टमा पुनः सत्तामा फर्किएपछि मानव अधिकार उल्लङ्घनको बढ्दो आरोपहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानीको खोजी गर्दै आएको छ । रूसको यो निर्णय त्यसै प्रयासको पहिलो सफलता बन्ने देखिएको छ ।
