

तिरुवनन्तपुरम ।
भारतीय प्रान्त केरलाको तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा १८ दिनअघि आपत्कालीन अवतरण गरेको बेलायतको एउटा लडाकु विमान फर्किन नसक्ने भएको छ।
उड्दाउड्दै इन्धन सकिन लागेको संकेत पाएपछि पाइलटले अप्रिय अवस्था नआओस् भनेर गत जुन १४ (जेठ ३१) राति ब्रिटिस रोयल नेवीको लडाकु जेट एफ-३५ तिरुवनन्तपुरम विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए।
त्यसपछि चेकजाँच गर्दा विमानमा प्राविधिक गडबडी देखियो। मर्मतका लागि बेलायतबाट इन्जिनियरहरूको टोली आए पनि अहिलेसम्म विमान बन्न नसकेको हो। विमान उडाएर बेलायत फर्काउन सकिने अवस्था नदेखिएको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अब लडाकु विमानलाई सैन्य कार्गो विमानमार्फत टुक्राटुक्रा पारेर बेलायत फिर्ता लगिनेछ।
९१८ करोड मूल्यको यो विमान ब्रिटिस रोयल नेवीको एचएमएस प्रिन्स अफ वेल्स क्यारियर स्ट्राइक ग्रुपको हिस्सा हो। यसलाई विश्वको सबैभन्दा उन्नत लडाकु जेटमध्ये एक मानिन्छ।
