

जनकपुरधाम ।
मनसुन सुरू भएयता देशका अधिकांश भागमा राम्रो वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ गतेदेखि असार १८ गतेसम्म ३०२ मिलिमिटर वर्षा भएको छ । यो भनेको सरदरको २०.४ प्रतिशत वर्षा हो ।
मनसुनको सुरूआतमा उल्लेख्य वर्षा भए पनि २६ जेठदेखि १ असारसम्म सरदरभन्दा कम वर्षा भएको थियो । अहिले औसत नै वर्षा भइरहेको छ ।
तर पूर्वी तराई भने सुख्खा छ । पानी नपरेकाले रोपाइँ हुन सकेको छैन । मधेसमा त सुख्खा नै लागेको मौसमविद् विनोद पोखरेलले बताएका छन् । उनका अनुसार यसपालिको मनसुनमा कोशीमा उल्लेख्य वर्षा हुने अनुमान गरिएको थियो । अहिले त्यसविपरीत देखिएको छ ।
यो क्रम अझै केही समयसम्म रहने उनले बताएका छन् । शनिबारसम्म पूर्वी नेपालमा उल्लेख्य वर्षाको सम्भावना देखिएको छैन । त्यस कारण किसानहरूले सिञ्चाइका लागि वैकल्पिक उपाय अपनाउन पनि उनले आग्रह गरेका छन् ।
