

एजेन्सी ।
भारतीय क्रिकेटर मोहम्मद शमीलाई उनकी पत्नी हसिन जहान र छोरीकालागि मासिक चार लाख रुपैयाँ भरणपोषण खर्च तिर्न कलकत्ता उच्च अदालतले आदेश दिएको छ । अदालतले शमीलाई पत्नीका लागि १.५ लाख र छोरीका लागि २.५ लाख रुपैयाँ प्रत्येक महिना तिर्नुपर्ने निर्णय गरेको हो ।
शमीकी पत्नी हसिन जहानले २०१८ मा घरेलु हिंसा, दहेज माग, मानसिक यातना र म्याच फिक्सिङसम्बन्धी गम्भीर आरोप लगाउँदै मुद्दा हालेकी थिइन् । जिल्ला अदालतले यसअघि शमीलाई कम रकम तिर्न आदेश दिए पनि हसिन जहानले त्यसविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।
अदालतले शमीको आम्दानी, जीवनशैली र छोरीको भविष्यलाई मध्यनजर गर्दै यो रकम उपयुक्त ठहर गरेको छ । अदालतले मुख्य मुद्दाको अन्तिम फैसलासम्मका लागि यो मर्मत खर्च कायम रहने स्पष्ट पारेको छ ।
शमीको वार्षिक आय करोडौँमा रहेको उल्लेख गर्दै अदालतले उनी यस्तो खर्च वहन गर्न सक्षम रहेको निष्कर्ष निकालेको हो । हसिन जहानले अदालतको आदेशपछि न्याय पाएको अनुभूति भएको बताउँदै छोरीको शिक्षा र भबिष्य सुरक्षित हुने विश्वास व्यक्त गरेकी छन् ।
