

काठमाडौँ ।
निजामती विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी दफामा हेरफेर भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा चर्को बहस भएको छ । सांसदहरूले यसलाई जघन्य अपराध भन्दै छानबिन समिति गठन र समितिका सभापति तथा सचिवको राजीनामासमेत माग गरेका छन् ।
एमाले सांसद पदम गिरीले सभापति रामहरि खतिवडा र सचिवको राजीनामा माग गरेका छन् । कांग्रेस सांसद प्रकाश अधिकारीले विधेयकमा गरिएको हेरफेरले जनतामा अविश्वास सिर्जना गरेको भन्दै गम्भीर आपत्ति जनाउँदै छानबिन समिति गठनको माग गरे ।
सांसद पदम गिरी, प्रकाश अधिकारी, राजेन्द्र पाण्डे र हितराज पाण्डेलगायतले विधेयकमा भएको हेरफेरले संसदको गरिमा क्षतिग्रस्त बनाएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले यसमा जालझेल र षडयन्त्र भएको दाबी गर्दै जिम्मेवार पक्षमाथि कारबाहीको माग गरेका छन् ।
