

एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ६० दिन युद्धविराम गराउने सर्तमा इजरायल सहमत भइसकेको दाबी गरेका छन् ।
युद्धविरामका लागि सबै पक्षहरूले तीव्र रुपमा काम गरिरहेको बताउँदै राष्ट्रपति ट्रम्पले शान्तिका लागि मेहनत गरेका कतार र इजिप्टले अब अन्तिम सर्तसहितका प्रस्ताव प्रस्तुत गर्ने बताएको बिबिसीले जनाएको छ ।
सर्तहरु के कस्ता छन् भन्नबारे भने खुलाइएको छैन । हमासले उक्त सर्त स्वीकार गर्छ या गर्दैन एकिन छैन् । तर हमासले सर्तहरु इन्कार गरे मान्य नहुने ट्रम्पले चेतावनी दिएका छन् ।
इजरायलले सैन्य कारबाही बढाउनु अघि उत्तरी गाजाबाट मानिसहरूलाई खाली गर्न आदेश दिएको केही समयपछि यो निर्णय आएको हो । हमासले लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट पूर्ण इजरायली सेना फिर्ताको लागि आह्वान गर्दै आएको छ । तर, इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त गरेपछि मात्र द्वन्द्व अन्त्य हुने बताउदै आएको छ ।
गाजामा अझै पनि ५० इजरायली बन्धकहरू छन् । जसमध्ये कम्तिमा २० जना जीवित रहेको विश्वास गरिन्छ ।
