

काठमाडौं ।
नेपाली कांग्रेसका पाँच भ्रातृ संस्थाले महाधिवेशन गर्ने मिति पार्टीमा प्रस्ताव गरेका छन् । पार्टीको महाधिवेशनको मितिका लागि मिति प्रस्ताव गर्न निर्देशन दिएपछि पाँच भ्रातृ संस्थाले समय तोकेका हुन् ।
पार्टीको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थाहरुको म्याद उनीहरुले तय गरेको समय अनुसार थप्ने छलफल गर्ने भएको छ । प्रस्तावित मितिलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि भ्रातृ संस्थाले तोकिएको समयमा महाधिवशेन गर्नुपर्नेछ ।
तरुण दलले मंसिर २६ देखि महाधिवशेन गर्ने प्रस्ताव पार्टीमा बुझाएको छ । किसान महासंघले भाद्रको ३ गते देखि महाधिवेशन गर्ने जानकारी पार्टीलाई गराएको छ ।
थारु संघले दुईटा मिति प्रस्ताव गरेको छ । भाद्र २८ र असोज २५ प्रस्ताव गरेर पार्टीलाई जानकारी गराएको छ । लोकतान्त्रिक खेलकुद संघ भाद्र ३० र ३१ गते प्रस्ताव गरेको छ । नेविसंघ, महिला संघ र दलित संघले भने महाधिवशेनको मिति पार्टीलाई प्रस्ताव गरिसकेका छैनन् ।
यो वर्षको माघसम्म सबै भ्रातृ संस्थाको अधिवेशन गर्ने गरी पार्टीले सहजीकरण गर्ने महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा जानकारी गराएका थिए ।
